काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिन नै मागभन्दा करिब ६ गुणा कित्ता खरिद आवेदन परेको छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपीओ खुलेको दिन आइतबारसम्म ३८ लाख ९९ हजार ६७० कित्ता खरिदका लागि आवेदन परेको हो। 

संस्थाले प्रतिकित्ता रु. १०० अंकित दरका ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गरेको छ । निष्कासित कुल सेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सेयर सर्वसाधरणका लागि जारी गरिएको छ। 

ग्लोबल आईएमई क्यापिटलका अनुसार आइतबार १ लाख ५५ हजार २९६ आवेदकमार्फत ३८ करोड ९९ लाख ७६ रुपैयाँबराबरको ३८ लाख ९९ हजार ६७० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्छन्। आईपीओ निष्कासन असार १४ गते (बैंकिङ समयपछि) बन्द हुनेछ। 

साधना लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ। त्यस्तै ‘मेरो सेयर’ मार्फत पनि आवेदन भर्न सकिनेछ। 

यो आईपीओलाई केयर रेटिङ नेपालले औसतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस प्रदान गरेको छ।