काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक समृद्धि लघुवित्तलाई १००: ८० को सेयर स्वाप अनुपातमा गाभ्ने(प्राप्ति गर्ने) भएको छ । 

दुवै वित्तीय संस्थाबीच प्राप्तिको सम्झौतापछि भएको सम्पत्ति तथा दायीत्व मूल्याङ्कन प्रतिवेदनको आधारमा साधनाले आर्थिक समृद्धि लघुवित्तलाई १००: ८० को सेयर अनुपातमा गाभ्ने अजेण्डा विशेष साधारणसभाबाट पारित भएको हो । 

दुवै लघुवित्तको विशेष साधारणसभाले डिडिए रिपोर्टले सुझाएअनुसारको सेयर अनुपातसहित गाभ्ने र गाभिने प्रस्ताव पारित गरेका हुन् । 

विशेष साधारणसभाले एक्वीजिसनपछिको एकीकृत संस्थाले १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा  केन्द्रिय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले  तनँहु जिल्ला भानु न.पा वडा नं ५ डुम्रेमा केन्द्रीय कार्यालय रहेको आर्थिक समृद्धि लघुवित्तलाई एक्वायर गर्न लागेको हो । 

एक्वीजिसनपछि जारी हुने हकप्रदपछि एकीकृत संस्थाको चुक्तापूँजी रु १४ करोड ७० लाख पुग्ने छ । 

एक्विजिसन प्रक्रियामा नियामक निकायको निर्देशनअनुसार काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताब पनि पारित भएको साधना लघुवित्तले जनाएको छ । 

साधारण सभामा साधनाका अध्यक्ष कृष्णबहादुर थापाले एक्विजिसनपछि वित्तीय संस्था १० जिल्लामा मात्र सीमित नरही राष्ट्रियस्तरको वित्तीयसंस्थाको रुपमा स्थापित हुने जानकारी गराउदै राष्ट्र बैक तथा नियमनकारी निकायहरुको निर्देशनबमोजिम वित्तीय संस्थालाई अब्बल राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा स्थापित गराई गाम्रिण दुरदराजमा गई वित्तीय सेवाको साथै सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने उद्देश्य रहेको बताए । 

नेपाल राष्ट्रबैंकले लघुवित्त संस्थाहरुलाई समेत मर्जरमा जान दवाब दिएपछि लघुवित्तकै क्षेत्रमा यो एक्विजिसन पहिलो हो । 

यसलाई सफलतापूर्वक सम्पन्न गरी आगामी दिनहरुमा अन्य लघुवित्त वित्तीय संस्थाहरुसँग समेत गाभ्ने गाभिने सम्बन्धमा छलफल गरी सवल वित्तीय संस्था बनाउने साधनाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए ।