काठमाण्डौ । हालै आईपीओ निष्कासन गरी बिक्री गरेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आज बिहीबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ।

स्पेसल प्रिओपनिङ सेसनमा पहिलो कारोबार भएसँगै यो संस्थाको सेयर नियमित समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) का लागि कारोबारमा आएको हो। स्पेसल प्रिओपनिङ सेसनमा यो संस्थाको सेयर प्रतिकित्ता ३९० रुपैयाँमा १० कित्ता सेयर कारोबार भएको छ। 

नेप्सेले पहिलो कारोबारका लागि यो संस्थाको सेयरलाई १३०.१३ रुपैयाँदेखि ३९०.३६ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो।

यो संस्था र नेप्सेबीच हिजो बुधबार सेयरसूचीकरण सम्झौता भएको थियो। हिजै नेप्सेमा यो कम्पनीको २१ लाख ७७ हजार ८०० कित्ता सेयर सूचीकृत भइसकेको छ।

संस्थाले गत असार २१ गतेदेखि असार २४ गतेसम्म ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको थियो। संस्थाले प्रतिकित्ता रु. १०० दरका ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो। निष्कासित कुल सेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।