काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज बुधबार अन्तिम मौका रहेको छ।

संस्थाले गत आइतबार (असार २१ गते) गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो। लगानीकर्ताले आज (असार २४ गते) बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।

संस्थाले प्रतिकित्ता रु. १०० दरका ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको छ। निष्कासित कुल सेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिएको छ। 

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सकिने छन्। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। 

साधना लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ। त्यस्तै ‘मेरो सेयर’ मार्फत पनि आवेदन भर्न सकिनेछ। 

त्यसो त यो आईपीओमा खुलेको तेस्रो दिन (मंगलबार साँझ) सम्म माग भन्दा १३ गुणा बढी आवेदन परिसकेको छ। मंगलबार साँझ ५ बजेसम्म ८८ लाख ६४ हजार ८३० कित्ताका लागि आवेदन परेको हो। यो भनेको सर्वसाधारणका लागि निष्कासन गरिएको कित्ताको १३.४० गुणाले बढी हो। 

हिजो साँझसम्म आईपीओ खरिदका लागि ३ लाख ६३ हजार ३५२ जनाको आवेदन परिसकेको छ।

यो आईपीओलाई केयर रेटिङ नेपालले औसतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस प्रदान गरेको छ।