काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई लाभांश घोषणाको लहर चलिरहेकै बेला त्यसलाई पारित गर्न तथा अन्य महत्वपूर्ण एजेण्डालाई समेत टुंगोमा पुर्याउन बैंक तथा बित्तीय संस्थाहरुले साधारणसभा आह्वानको पनि लहर नै चलाएका छन् । बुधबार मात्रै आधादर्जन बढी बैंक तथा बित्तीय संस्था र नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीले वार्षिक साधारणसभा घोषणा गरेका छन् । 

सनराइज बैंक लिमीटेडले आगामी कात्तिक ३० गते बिहीबार दशौं वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभामा गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित हुनेछ । 

काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको आरम्भ माइक्रो फाइनान्सले आफ्नो तेश्रो वार्षिक साधारणसभा आगामी कात्तिक १८ गते आह्वान गरेको छ । बनेपा १० स्थित संस्थाको केन्द्रीय कार्यालयमा आह्वान गरिएको साधारणसभामा २ लाख ९४ हजार कित्ता आइपीओ जारी लगायतका प्रस्ताव पेश हुने सूचनामा उल्लेख छ । 

नेप्सेमा सूचिकृत ओरिएन्टल होटल लिमीटेडले समेत बुधबार सूचना प्रकाशित गर्दै आगामी कात्तिक २३ गते बीसौं वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभामा १८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव स्वीकृति गर्नेदेखि लिएर संस्थापक सेयरधनीको हिस्सा ५५ प्रतिशत र साधारणको ४५ प्रतिशत कायम गराउन एफपीओ जारी गर्ने प्रस्ताव समेत विशेष प्रस्तावको रुपमा पेश हुने बताइएको छ । 

उता, गुराँस लघुवित्त वित्तीय संस्थाले समेत आगामी कात्तिक २२ गते दोश्रो वार्षिक साधारणसभा बोलाएको छ । धनकुटाको होटल प्यासिफिकमा हुने यो कम्पनीको साधारणसभामा १ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि आइपीओ गर्ने, २ बराबर १ को अनुपातमा हकप्रद जारीको प्रस्ताव समेत पारित गर्ने लगायतका एजेण्डा पेश हुने बताइएको छ । 

धादिङको नौबीसेमा केन्द्रीय कार्यालय रहेको वोमी माइक्रोफाइनान्स बित्तीय संस्थाले कात्तिक ३० गते छैठौं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभामा गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर वितरणका लागि स्वीकृति प्रदान गर्ने तथा ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पास हुने बताइएको छ । 

सिन्धुुपाल्चोकको नेपाल सेवा लघुवित्त बित्तीय संस्थाले चाहि कात्तिक २४ गते तेश्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । सिन्धुुपाल्चोकको फटकशिला ८ स्थित इन्द्रावतीी सामुदायिक सेवा केन्द्रमा आह्वान वार्षिक साधारणसभामा संस्थाको कार्यक्षेत्र बिस्तार लगायतको प्रस्ताव पेश हुने बताइएको छ ।