काठमाण्डौ । दोश्रो बजारमामा प्रतिकित्ता ५०० रुपैयाँ माथि कारोबार भइरहेको सानिमा माई हाइड्रोको १ लाख ४६ हजार ५ सय ९२ कित्ता सेयर बोलकबोलबाट बिक्री हुने भएको छ । 

यो जलविद्युत आयोजनाको बिक्री नभएको(अबितरित) सेयर आगामी मंसिर ११ गतेदेखि लिलामीबाट बिक्री हुने भएको हो । ११ गतेदेखि खुल्ने आवेदनमा इच्छुक लगानीकर्ताले मंसिर १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

यो जलविद्युत आयोजनाको बिक्री नभएको सेयर खरीदका लागि धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार काठमाण्डौ बाहिरबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । 

सानिमा माई हाइड्रोपावर लिमीटेडले गत साउन २७ गतेदेखि भदौ २९ गतेसम्म हकप्रद सेयरको बिक्री खुल्ला गरेको थियो । सो क्रममा १ लाख ४६ हजार ५ सय ९२ कित्ताका लागि सेयरधनीले आवेदन दिएका थिएनन् । आवेदन नपरेको त्यही सेयर लिलामीको प्रक्रियाबाट बिक्रीगर्न लागिएको हो । 

यो कम्पनीको अबितरित सेयर खरीदका लागि इच्छुक लगानीकर्ताले काठमाण्डौको कमलपोखरीस्थित सनराइज क्यापिटलको मुख्य कार्यालय, सनराइज बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीस्थित शाखा कार्यालयमा गएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० उल्लेख गर्नुपर्नेछ भने न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने बताइएको छ । 

रु. ५० हजारसम्मका लागि आवेदन दिंदा नगदमा जम्मा गर्न सकिने भए पनि सो भन्दा माथिको आवेदकले अनिवार्य रुपमा गुड फर पेमेन्ट चेकमार्फत जम्मा गर्नुपर्ने उल्लेख छ।