काठमाण्डौ । एनआइसी एशिया बैंकले सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । 
 
यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएका २६६ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्नसक्ने बताइएको छ । 
 
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र इन्स्योरेन्स कम्पनीको तर्फबाट नायबप्रबन्ध निर्देशक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरे ।
 
एनआइसी एशिया मुलुकभर २६६ शाखा कार्यालयहरु, २७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ। 
 
बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४४ अर्ब सहित निजी क्षेत्रका बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।