काठमाण्डौ । सानिमा बैंकले घोषणा गरेको १४ प्रतिशत नगद लाभांश तपाई पनि आफ्नो पोल्टामा पार्न चाहनुहुन्छ ? यदि त्यसो हो भने तपाईले आज(बिहीबार) कारोबार अवधिभित्रै सानिमा बैंकको सेयर किन्नुपर्ने हुन्छ । 

किनभने यो कम्पनीले प्रस्तावित नगद लाभांश पारित गर्ने गरी आह्वान गरेको १४ औं वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि(मंसिर १४ गते)लाई बुक क्लोजको मिति तोकेको छ । 

यसको अर्थ कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुन र घोषणा गरेको नगद लाभांश पाउन चाहनेले बुक क्लोजको ठीक एक दिनअघि अर्थात बिहीबार(आज) कारोबार अवधिभित्र सानिमा बैंकको सेयर खरीद गरिसक्नुपर्छ ।

यो बैंकले आफ्नो वार्षिक साधारणसभा आगामी मंसिर २७ गते काठमाण्डौको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा आह्वान गरेको छ । 

साधारणसभामा १ अर्ब १२ करोड रुपैयाँ बराबरको १४ प्रतिशत नगद लाभांश वितरणको संचालक समितिको प्रस्ताव अनुमोदन गर्ने कार्यक्रम रहेको छ । 

यसैगरी, सर्वसाधारण सेयरधनीको समूहबाट संचालक निर्वाचित गर्ने र ब्रोकरेज सेवा संचालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन बैंकलाई सहमति दिने बिषय पनि साधारणसभामा अजेण्डाको रुपमा प्रस्तुत हुनेछन् ।