काठमाण्डौ । पछिल्लो समय बैंकहरुको निक्षेप संकलन र कर्जा परिचालन सन्तुलित बन्दै गएको देखिएको थियो । तर, चैत २५ गते सानिमा बैंकबाट १० अर्ब रुपैयाँ निक्षेप घटेसँगै सुधार हुँदै गरेको देखिएको निक्षेप ह्वात्तै घट्न पुग्यो । 

एकाएक सानिमा बैंकको १० अर्ब निक्षेप कहाँ गयो त ? नेपाल राष्टबैंकस्थित स्रोतका अनुसार नेपाल आयल निगमले खाता खोलेको सो बैंकमा इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनका लागि एकैदिन १० अर्ब निक्षेप निकालिएको थियो । 

सानिमा बैंकले आयल निगमको खाता संचालन गर्दै आएको छ । 

यस्तै, यो अवधिमा अन्य बैंकहरुबाट ४ अर्ब निक्षेप घटेको देखिएको छ । सरकारलाई तिर्नुपर्ने कर तथा राजश्वका कारण
गत साता २१ अर्ब रुपैयाँले निक्षेप बढेको तथ्यांक केन्द्रीय बैंकले जारी गरेको थियो । तर, त्यसको भोलिपल्टै बैंकिङ प्रणालीबाट १४ अर्ब घटेको थियो । 

तेश्रो त्रैमासको अन्तिम महिना(चैत)मा विकास निर्माणले केही गति लिने र यसले सरकारी खर्च समेत बढ्ने भई सो रकम निक्षेपको रुपमा बैंकमा आउने क्रम बढेको थियो । सरकारको विकास खर्च बढेपछि ढुकुटीमा थुप्रिएको सरकारी पैसा बिस्तारै च्यानलमा आउन थालेको देखिएको थियो ।

अघिल्ला महिनाहरुमा निक्षेपतर्फ थोरै मात्र वृद्धि गर्ने बैंकहरुले कर्जा बिस्तारमा भने आक्रामक मूभ लिने गरेका थिए । तर, चैत लागेपछिको अवस्था केही सन्तुलित देखिएको थियो । पछिल्लो सातामा २१ अर्ब रुपैयाँले बैंकहरुको निक्षेप बढेको थियो । चैत महिनाभर मात्रै ३२ अर्बले निक्षेपमा सुधार भएको राष्ट्रबैंकले जनाएको छ । 

पछिल्लो साता निक्षेप २१ अर्बले बढेपछि चैत महिनामा २८ वाणिज्य बैंकहरुमा कुल निक्षेप २७ खर्ब ७ अर्बको उचाईमा पुगेको थियो । 

निक्षेप संकलनमा आक्रामक देखिएका बैंकहरुको कर्जा बिस्तारको गति भने केही सुस्त देखिएको थियो । २१ अर्बले निक्षेप बढेको साता बैंकले कर्जा विस्तार भने ६ अर्बले मात्र बढाएका देखिएको थियो । यस्तै, महिनाभर ३२ अर्बले निक्षेप बढे पनि १५ अर्बले मात्र कर्जा बिस्तार बढेको थियो ।