काठमाण्डौ । सानिमा बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ११ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । चौथो त्रैमाससम्म पनि यस्तै अवस्था रहे र नियामकीय व्यवस्थाका लागि थप रकम विनियोजन गर्न नपरे बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई १८ प्रतिशत भन्दा बढी नै लाभांश दिनसक्ने देखिएको छ । 

हाल यो बैंकको चुक्तापूँजी ८ अर्ब रहेको छ । 

बैंक गत वर्षको तुलनामा नाफामा निकै राम्रो फड्को हानेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब २० करोड नाफा आर्जन गरेको बैंकले यो वर्ष १ अर्ब ५७ करोड नाफा आर्जन गरेको हो । 

अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ७३ करोडमा सीमित संचालन मुनाफा बढेर यो वर्ष २ अर्ब २४ करोडको उचाईमा पुगेको छ भने २ अर्ब ९ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर २ अर्ब ९१ करोड पुगेको छ । 

समीक्षा अवधिमा सानिमा बैंकले ८५ अर्ब २६ करोड निक्षेप संकलन गरी ७९ अर्ब १३ करोड कर्जा परिचालन गरेको छ । गत वर्षको तुलनामा निक्षेप ९.५३ प्रतिशत बढाएको बैंकले कर्जा बिस्तार भने १७.०७ प्रतिशतले बढाएको छ । 

बैंकको गत वर्षको चैत मसान्तको भन्दा यो वर्षको सोही अवधिको सीसीडी अनुपात निकै टाइट देखिएको छ । अघिल्लो वर्ष ७८.०६ प्रतिशत रहेको यस्तो अनुपात यो वर्ष केही बढेर ७८.५८ प्रतिशत पुगेको हो । 

अघिल्लो वर्षको यही अवधिसम्म २ अर्ब ७८ करोडमा सीमित रिजर्ब बढेर ३ अर्ब २२ करोड पुगेको छ भने ०.१७ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटाएर ०.१२ प्रतिशतमा सीमित गर्न बैंक सफल देखिएको छ । 

अघिल्लो वर्ष ९.८८ प्रतिशतमा रहेको आधार दर घटेर ९.३१ प्रतिशतमा सीमित भएको छ । आधार दरलाई सिंगल डिजिटमा कायम राख्ने बैंकको प्रयास सराहनीय पक्ष हो ।

बैंकले समीक्षा अवधिमा प्रतिसेयर आम्दानीलाई बढाएर २६.२५ रुपैयाँ पुर्याएको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब ३१ प्रतिशतले बढी हो । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४०.३२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.११ गुणा कायम भएको छ ।