काठमाण्डौ । वित्तीय अनुशासनका बारेमा आफ्ना छोराछोरीहरुलाई कम उमेरमै सम्झाउनु बुद्धिमानी हुन्छ । यसले गर्दा उनीहरुलाई आर्थिक समस्यासँग लड्न मद्दत पनि पुग्छ ।

आफ्ना छोराछोरीलाई सम्पत्तिसँग जोडिएका सही जानकारी दिनु र सम्पत्तिको उपयोगिता विकास गर्न सिकाउनु अभिभावकको मुख्य कर्तव्य पनि हो । बचत र खर्चको अनुशासन कम उमेरमै सिकाउँदा यो जीवनभर लागू हुन सक्छ । त्यसैले कम उमेरमा केटाकेटीलाई आर्थिक गतिविधिबारे सही जानकारी दिँदा पारिवारिक संस्कृति र वित्तीय अनुशासन कायम राख्न सफल बन्न सकिन्छ ।

जीवनमा हामीले सम्पत्ति कसरी सुरक्षित राख्छौँ, कसरी खर्च गर्छौं, अप्ठ्यारो परिस्थितिमा सम्पत्तिको उपयोगिता कसरी गर्छौं आदि सबै हाम्रो इच्छा, लालच, अनुशासन र स्वयंमा नियन्त्रणबारे थुप्रै संकेत देखिन्छ । धनसम्बन्धी सानैदेखिको अनुभव, अभिभावकको व्यवहार र वातावरणले नै परिवारमा वित्तीय अनुशासन कायम हुन्छ ।

त्यसैले आफ्ना छोराछोरीलाई धनको उपयोगिता राम्रो बनाउन हामीले कस्तो व्यहार गर्नुपर्छ त ? यी आठ टिप्स् अपनाउनुहोस् –

१. अभिभावक स्वयं इमान्दार हुन आवश्यक हुन्छ । यदि अभिभावकको नै लापरबाही ढंगले खर्च बानी छ भने छोराछोरीको बानी पनि भविष्यमा त्यस्तै हुन सक्छ । किनकि छोराछोरीले नै अभिभावकबाट आर्थिक उपयोगिताको पाठ सिक्ने हो । त्यसैले अभिभावकले अनावश्यक खर्चमाथि निर्णय राख्नुपर्छ र आफ्ना छोराछोरीलाई यसबारे जानकारी गराउनुपर्छ । अनिमात्र सानै उमेरदेखि केटाकेटीहरु धनको उपयोगिताबारे सिक्दै जान्छन् । 

२. सानैदेखि केटाकेटीमा आर्थिक अनुशासन कायम गर्ने नाममा अनावश्यक दबाब दिइरहनु पनि राम्रो होइन । जब केटाकेटी ठूला हुँदै जान्छन् तब बारम्बार हामीले दिने दबाबले झर्को मान्न थाल्छन् र विरोध पनि गर्न सक्छन्। यस्तो अवस्थामा आफ्नो आर्थिक स्थितिलाई ध्यानमा राखेर उनीहरुलाई सम्झाउने कोसिस गर्नुपर्छ र उनीहरुले चाहेको बाटोमा हिँड्न पनि दिनुपर्छ। अन्यथा अनावश्यक दबाबले केटाकेटी झनै बिग्रन सक्छन् । 

३. आर्थिक अनुशासनमा हिँडाउने क्रममा केटाकेटीलाई अभिभावकले सबै कुरा भन्न पनि आवश्यक हुँदैन । जस्तै अभिभावकले कति कमाउँछन्, सम्पत्ति कति छ र अंशमा कति पाउँछन् । केटाकेटीलाई आर्थिक अनुशासन सिकाउन यी कुराले खासै प्रभाव पार्दैन । यदि यी कुरा केटाकेटीलाई जानकारी दिइयो भने उनीहरुले झन लापरबाह हुन सक्छन् । यस्तो केही कुरा नभन्दा पनि फाइदाजनक हुन्छ ।

४. कठिन अवस्थामा आर्थिक समस्यासँग जुझ्न केटाकेटीलाई पनि सामेल गराउनुहोस् । उनीहरुलाई जानकारी गराउनुहोस् कि यो अवस्थामा कसरी अगाडि बढ्ने । तर कठिन अवस्थामा केटाकेटीलाई मानसिक तनाव सिर्जना हुने कुराहरु भने नगर्नुहोस् बरु परिस्थितिसँग लड्नका लागि हौसला प्रदान गर्नुहोस् । किनकि जीवनमा सुखसँगै दुःखका घडी पनि आउँछन् । यस्ता परिस्थितिबाट केटाकेटीले पाठ सिक्छन् ।

५. परिवारमा आर्थिक अनुशासन कायम राख्न अभिभावक स्वयं पनि नैतिकवान बन्न आवश्यक छ । यदि अभिभावक नै जालसाझी र गलत आर्थिक गतिविधि गरिरहेका छन् भने यसको नकारात्मक असर केटाकेटीमा पर्छ । भविष्यमा उनीहरु पनि अभिभावकले देखाएको गलत बाटोमै हिँड्न सक्छन् । त्यसैले सम्पत्ति जोड्ने नाममा गलत काम गर्नुभन्दा पनि सही काम गरेर आफ्ना केटाकेटीलाई त्यही बाटोमा डोर्याउनु उत्तम हुन्छ । 

६. बितेका समयबारे केटाकेटीसँग धेरै कुरा नगर्नुहोस् । सायद उनीहरु नमान्न सक्छन् । त्यसैले केटाकेटीलाई वर्तमान अवस्थाबारे जानकारी दिनु र कसरी अगाडि बढ्न भन्नेबारे सिकाउनु नै राम्रो हुन्छ । यसले केटाकेटीलाई वित्तीय अनुशासन कायम राख्न मद्दत पुग्छ । 

७. केटाकेटीमा धनको भूमिका उनीहरुको सुरक्षासँग जोडिएको हुन्छ । धन केवल सामान किन्ने मूल कार्यमा मात्र सीमित नराख्नुहोस् । धनलाई कसरी सदुपयोग गर्ने, कसरी बचत गर्ने र कसरी बढावा दिनुपर्छ भन्ने ज्ञान पनि केटाकेटीलाई दिनुहोस् । किनकि सानैदेखि केटाकेटीमा बचत गर्ने बानी विकास भएमा उनीहरुको भविष्य उज्ज्वल हुन्छ । 

८. केटाकेटीलाई धनसँग सम्बन्धित निर्णय गर्ने क्षमता विकास गर्न सहयोग गर्नुहोस् । अनावश्यक खर्च गर्दा हुने आर्थिक भारबाट बच्न उनीहरुलाई सिकाउनुहोस् । जस्तै आफ्नो आर्थिक हैसियतभन्दा ठूलो धनराशि खर्च गरेर केटाकेटीको जन्म दिन पार्टी गर्दा त्यसको असर महिनौँसम्म पर्न सक्छ । त्यसैले केटाकेटीलाई यस्तो अवसर मनाउन कसरी पहिलेदेखि नै पैसा बचत गर्ने भन्ने बानी विकास गर्न सिकाउनु नै उत्तम हुन्छ । – एजेन्सी