काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले 'टाइप मिस्टेक' भन्दै गलत सूचना प्रवाह गर्दा यसले बजारमा हलचल पैदा गरिदियो । यो प्रकरणलाई सामान्य भन्दै तोडमोडको प्रयास भइरहँदा जिम्मेवार अधिकारीहरुको एउटा सामान्य गल्तीले कम्पनी नै कसरी ध्वस्त हुन्छ भन्ने उदाहरण चीनमा भेटिएको छ । सन् २०१५ सम्म चीनकै सर्वाधिक धनी व्यक्तिको रुपमा रहेको ली हेजुनले कम्पनीको वार्षिक साधारणसभामा उपस्थित नभएकै कारण अर्बौ सम्पत्ति मात्र गुमाएनन्, चीनको सर्वाधिक धनीबाट समेत तल झर्नुपरेको छ । अदालतले समेत गैरजिम्मेवारीपन देखाउने उनीविरुद्ध कडा फैसला सुनाएको छ, तर कानून कमजोर रहेको हाम्रो मुलुकमा भने इन्भेष्टमेन्ट बैंकमाथि कुनै कारबाही नहुन पनि सक्छ । 

हेजुनको एउटा सानो गल्तीका कारण उनको नाममा रहेको चीनकै सबैभन्दा धनी व्यक्तिको उपाधि समेत खोसिएको छ । यति मात्र होइन, उनलाई हङकङको विजिनेश दुनियाँमा आगामी ८ वर्षका लागि प्रतिबन्ध समेत लगाइएको छ । 

३० मिनेटमै २.८ लाख करोड स्वाह !
हेजुन सोलार पावर बनाउने कम्पनी हेनर्जी थिन फिल्म पावर गु्रप लिमीटेडका संस्थापक हुन् । अप्रील २०१५ मा उनको कम्पनीको बजार पूँजीकरण४० अर्ब डलरको थियो । तर, २०१५ मई महिना उनका लागि भयावह बनिदियो । खासमा हङकङमा व्यापार गर्ने समयमा बजार बन्द हुने अन्तिम ३० मिनेटको समयमा उनको कम्पनीको सेयर मूल्यमा ५० प्रतिशतको गिरावट आयो र यो क्रममा हेजुनको २.८ लाख करोड डूूब्न पुुग्यो । 

‘सानो गल्ती’ले ध्वस्त
कम्पनीको सेयरमा पहिरो जानुुको एउटा कारण हेजुनको सानो गल्ती मात्र थियो । त्यसबेला चिनियाँ मिडियामा बताइए अनुसार सेयरधनीहरु सहभागी बन्ने वार्षिक साधारणसभामा नगएका कारण यति ठूलो घटना भएको थियो । त्यसपछि हेजुनले आफूले सामान्य कारणले मात्र सेयरधनीहरुको बैठकमा नगए पनि यो सानो गल्ती नै आफ्नो कम्पनी डूूब्ने प्रमुख कारण बनेको भन्दै पछुतो व्यक्त गरेका थिए । 

यसपछि सेयरधनीले हेजुनविरुद्ध हङकङको अदालतमा मुद्धा हालिदिए । करिब डेढ वर्षपछि हालै अदालतले यो बिषयमा आफ्नो फैसला सुनाएको छ । अदालतले हेजुनको कम्पनीलाई आगामी ८ वर्षसम्म हङकङको सूचिकृत वा असूचिकृत कुनै पनि खालको कम्पनीमा सामेल हुन रोक लगाइदिएको छ । अदालतले आफ्नो फैसलामा हेजुनको एउटा सामान्य जस्तो लाग्ने गल्तीका कारण हङकङ स्टक एक्सचेञ्जले बजारलाई केही समयका लागि बन्द नै गर्नुपरेको बताउँदै भनेको छ–‘यसको मूल्य उनले चुकाउनुपर्नेछ।’

२१ हजार करोडको सम्पत्ति
फोब्र्स पत्रिकाका अनुसार हाल हेजुनको सम्पत्ति १.९३ अर्ब डलर अर्थात करिब २१ हजार करोड रुपैयाँ बराबर रहेको छ । फोब्र्सले सन् २०१५ मा हेजुनको सम्पत्ति २६ अर्ब डलर रहेको उल्लेख गर्दै उनलाई चीनको सर्वाधिक धनी व्यक्ति भनेको थियो । त्यही बेला प्रकाशित एक रिपोर्टमा हेजुनको सम्पत्ति सन् २०१५ मा अघिल्लो वर्षको भन्दा तीनगुणाले बढेको बताइएको थियो ।