काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सले विगतका केही वर्षदेखि आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालीहरुलाई सहयोग गर्दै आएको छ ।  

हालै, सामसङ (दक्षिण कोरिया)ले विभिन्न सामाजिक उत्तरदायीत्व परियोजनामध्ये सामसङ इम्प्लोई भोलेन्टियर प्रोग्रामको आयोजना गरी नेपाली युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा सहयोग गरेको छ । यसका लागि सामसङ कोरियाबाट २६ जनाको टोली नेपाल आएको थियो ।

महिला उद्यमशीलतालाई सहयोग गर्ने उद्देश्यसहित सामसङ टिमले उनीहरुका लागि ग्राफिक डिजाइनिङ्ग र फोटोसप सम्बन्धी विशेष तालिम पनि प्रदान गरेको थियो ।

सामसङ टिमको प्राविधिक समूूहले नेपालका करिब १०० विद्यार्थी र विभिन्न ७ वटा स्कुलका १० जना कम्प्युटर शिक्षकहरुलाई प्रशिक्षण पनि दिएको थियो । यसको लागि आवश्यक पर्ने आइटी उपकरणहरु तथा अन्य आवश्यक पर्ने टे«निङ्ग म्याटेरियलहरु कोरियाबाटै खरिद गरी ल्याइएको थियो र त्यसपछि विद्यालयलाई प्रदान समेत गरिएको छ । यसबाट करिब ७००० भन्दा धेरै विद्यार्थीहरु लाभान्वित हुने विश्वास सामसङले लिएको छ। 

यस्तै खालको तालिम कार्यक्रम अफ्रिकाका मुलुकहरुमा पनि गरिएको थियो । यस्तो कार्यक्रम त्यहाँ सफल मात्र भएन, ट्रेनिङ्ग लिएका व्यक्तिहरुको जीवन नै बदलिएको कम्पनीले दाबी गरेको छ । नेपालमा समेत यो कार्यक्रम उपयोगी हुने प्रशिक्षकहरुको विश्वास छ । 

यी वर्कसप नोभेम्मबर ११ देखि १७ सम्म संचालन गरिएका थिए । स्थानको रुपमा ज्ञान सिन्धु एकेडेमीलाई छनौट गरिएको थियो । 

सो एकेडेमीमा सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रममा कक्षा ७ र ८ का विद्यार्थीहरुलाई एमएस वर्ड र ९ कक्षाका २६ विद्यार्थीहरुलाई तथा अन्य स्थानीय उच्च मा.वि.का विद्यार्थीहरुलाई समेत सहभागी गराई एचटीएमएल सम्बन्धी प्रशिक्षण पनि दिइएको थियो । अन्य आमन्त्रित उच्च मा.वि.का विद्यार्थीहरुलाई महिला उद्यमशीलता कार्यक्रमअन्तर्गत प्रशिक्षण दिइएको थियो ।  

सामसङ टिमले अन्य स्थानीय स्कूूलका समेत १० जना प्रशासनसँग सम्बन्धित कर्मचारीहरुलाई एमएस एक्सल सम्बन्धी तालिम तथा १० जना शिक्षकहरुलाई एमएस पावर प्वाइन्ट सम्बन्धी तालिम प्रदान गरेको थियो । साथै, कक्षा सकिएपछि सामसङ टिम भित्ते चित्रकलामा पनि सहभागी भएको थियो  । 

नयाँपुस्तालाई प्राविधिक रुपमा सक्षम बनाउने उद्देश्यसहित विगतका केही वर्षहरुदेखि सामसङले विभिन्न कार्यहरु गर्दै आएको छ । यसै सिलसिलामा ५ वटा स्कूूलहरुमा स्मार्ट कक्षाहरुको स्थापना गरेको छ ।