काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सले केही महिनाअघि मात्र बजारमा ल्याएको ‘ग्यालेक्सी नोट ७’ लाई धमाधम फिर्ता गरिएपछि निकै ठूलो नोक्सानी व्यहोर्नुपरेको छ । कोरियाको यो कम्पनीको सेयर २ महिनाकै सबैभन्दा तल्लो स्तरमा पुगिसकेको छ । यसले कम्पनीको बजार पूँजीकरणमा करिब १ लाख ५३ हजार करोड रुपैयाँको गिरावट आइसकेको छ । सामसङले हालै ग्यालेक्सी नोट ७ को ह्याण्डसेटको ब्याट्रीमा आगलागी भएको घटनापछि यसका प्रयोगकर्तालाई फोन बन्द गर्न र डिभाइस फिर्ताका लागि अपील नै गरेको थियो । 

कति घट्यो सेयर ?
लगानीकर्तामा चिन्ता बढेपछि सामसङ कम्पनीको बजार पूँजीकरण १४.३ अर्ब डलर घटिसकेको छ । सोमबारको कारोबारलाई हेर्दा विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन मेकरको सेयर ६.९८ प्रतिशत घटेको छ ।

तेश्रो त्रैमासमा नाफा कम हुनसक्ने !
एक विज्ञलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरुमा भनिए अनुसार सामसङ कम्पनीको तेश्रो क्वार्टरको संचालन नाफामा करिब ९० करोड डलरको कमी आउनसक्नेछ । विज्ञहरुले तेश्रोदेखि चौथो क्वार्टरको अवधिमा  नोट ७ को ६० लाख ह्याण्डसेट मात्र आपूर्ति हुनसक्ने अनुमान गरेका छन् । जब कि पहिलाको १.२ देखि १.५ करोड ह्याण्डसेट बजारमा पठाउन सकिने आँकलन भन्दा आधा कम हो । 

एक विज्ञले भनेका छन्–‘सबैभन्दा ठूलो कुरा यो हो कि, पछि आउने नयाँ नोट ७ मा यही कमजोरी हुन्छ कि हुँदैन ? यदि यो समस्या यथावत रह्यो भने नोट ७ सँगै सामसङको आगामी प्रोडक्ट ‘ग्यालेक्सी एस ८’ मोडलको व्यापारमा समेत निकै गम्भीर असर पुग्नसक्छ । ग्यालेक्सी  ८ आगामी वर्षको पहिलो ६ महिनाभित्र रिलिज गर्ने कम्पनीको योजना छ । ग्यालेक्सी एस ८ सामसङको आगामी प्रमुख प्रोडक्ट हो । 

ह्याण्डसेटलाई स्वीच अफ गर्ने अनि अर्को लिने
सामसङले यही साता आफ्नो भनाई सार्वजनिक गर्दै आफ्ना आम ग्राहकहलाई कम्पनीको नोट ७ मोडल फिर्ता गर्न र नयाँ लैजान अनुरोध गरेको थियो । सामसङको प्रेजिडेन्ट डिजे कोहले भनेका छन् कि ग्राहकको सुरक्षा कम्पनीको पहिलो प्राथमिकता हो । उनले भनेका छन्–‘हामी हाम्रा ग्राहकलाई ग्यालेक्सी नोट ७ मोवाइललाई चाँडो भन्दा चाँडो स्वीच अफ गर्न र नजिकको सामसंग केन्द्रमा फिर्ता गरिदिन अनुरोध गर्छौ ।’ 

१९ अगस्टमा मात्र लञ्च भएको थियो नोट ७
सेप्टेम्बरको सुरुवातमै सामसङले बजारमा गइसकेको २५ लाख ह्याण्डसेट फिर्ता गरेको थियो । कम्पनीको तर्फबाट यो कार्यबाही ‘नोट सेभेन’ लञ्च भएको मात्र दुई हप्तापछिदेखि नै सुरु भएको थियो । कम्पनीको तर्फबाट गरिएको जाँचको क्रममा नोट सेभेन फोनको ब्याट्री  निकै खराब र जोखिमपूर्ण रहेको पत्ता लागेको थियो । यहीकारण कम्पनीले बजारमा पुगिसकेका सबै फोन फिर्ताको काम थालेको थियो । 

सामसङ ग्यालेक्सी नोट ७ मात्र अगस्ट १९ मा लञ्च गरिएको थियो । कम्पनीले नै फिर्ता लग्न थालेपछि अमेरिकी सरकारले समेत आफ्नो तर्फबाट सुरक्षाको कारण देखाउँदै नोट ७ को ह्याण्डसेट प्रयोग नगर्न सार्वजनिक रुपमै अपील गरिसकेको छ । उसले आफ्ना नागरिकलाई भनेको छ कि नोट ७ को ह्याण्डसेट तुरुन्तै बन्द गर्नुस् र त्यो फोनबाट टाढै बस्नुहोस् । एयरलाइन्स एजेन्सी एफएएले पनि यो ह्याण्डसेट कुनै पनि उडानमा प्रयोग गर्न बन्देज लगाइसकेको छ ।