काठमाण्डौ । तीस वर्षे बैंकिङ करिअर सम्हालिसकेका कपिलमणि ज्ञवाली अहिले सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् ।

गुल्मी रुरु गाउँपालिका–२, ग्वादी घर भएका ज्ञवाली हाल कामपा–१६ वनस्थलीमा बस्छन् ।

दशैंलाई हिन्दूहरुको महान् चाड, आफन्त तथा इष्टमित्रसँग मनाइने पर्वका रुपमा लिने ज्ञवाली दशैंलाई सांस्कृतिक परम्पराको निरन्तरताको रुपमा बुझ्छन् ।

युवाअवस्थामा रहेका बेला मनाइने दशैंलाई नै ज्ञवालीले अविष्मरणीय दशैंका रुपमा चिन्दछन् । 

राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत छँदा नयाँ नोट लिएर गाउँ जाँदाको मज्जा छुट्टै रहेको उनी सम्झन्छन् । साथीभाइसँग भेटघाट र मामाघर जाँदाको क्षणहरु उनको मनमस्तिष्कमा सधैं आइरहदो रहेछ ।

विगत ८ वर्षदेखि शाकाहारी बनेका ज्ञवाली कहिल्यै मद्यपान नगर्ने बताउँछन् ।

७५ वर्षीय आफ्नै आमाको हातबाट दशैंको टीका आशीर्वाद लिन गइरहेका ज्ञवालीले यो दशैं काठमाण्डौमै मनाएका छन् । 

दशैंमा ४०–५० जनाको जम्बो टोली भेटघाट र दशैं मनाउन घरमा भेला हुने गरेको ज्ञवालीको दाबी छ । 

दशैं बिदामा ठ्याक्कै कतै घुम्ने योजना नभए पनि १–२ रातका लागि कतै जान सकिने ज्ञवाली सुनाउँछन् ।

पहिल्यै मान्यजनबाट गाउँमा दशैंको टीका थाप्दा र हाल सोही परम्पराको निरन्तरता अनि अहिलेको अलिक मिक्सअप टाइपको दशैं रोमाञ्चक लाग्ने ज्ञवालीको बुझाइ छ ।

पूजाआजा र पारिवारिक भेटघाटलाई निरन्तरता दिदै मीठा–मीठा परिकार बनाउने र मनोरञ्जनपूर्वक दशैं मनाउने ज्ञवालीको योजना छ । साथीभाईसँग तास पनि खेल्न सकिने उनी सुनाउँछन् ।