काठमाण्डौ । गएको केही वर्षहरूमा सामाजिक सञ्जालमा प्रसिद्ध व्यक्तिहरूको आय ह्वात्त बढेको एउटा नयाँ प्रतिवेदनले देखाएको छ।

मार्केटिङ संस्था आईजीयाका अनुसार सन् २०१४ मा इन्स्टाग्राममा एउटा औसत प्रायोजित तस्बिरको १३४ अमेरिकी डलर पर्ने गरेकोमा सन् २०१९ मा त्यसको औसत मूल्य १,६४२ डलर पुगेको छ।

बीजनेश इन्साइडर पत्रिकाको अनुसार प्रायोजित पोस्ट, भिडिओ, कथा र ब्लगका लागि व्यापारिक संस्थाहरू राम्रो पैसा तिर्न उत्सुक देखिएका छन्।

तर एक विज्ञका अनुसार यो तथ्याङ्कको अर्थ परम्परागत विज्ञापनको समय सकिएको भने होइन। "डिजिटल व्यापार प्रवर्धन भनेको मानिसबीचको कुराकानी जस्तै हो तर विज्ञापनको कुरामा जहिले पनि यसको र परम्परागत विज्ञापनको संमिश्रण रहन्छ," सोसलबेकर नामक सामाजिक सञ्जाल मार्केटिङ वेबसाइटका प्रमुख कार्यकारी युभाल बेन-इट्जाक भन्छन्।

बीबीसीका अनुसार सो प्रतिवेदनले सन् २०१४ देखि सन् २०१९ सम्म फेसबुक, यूट्युब, इन्स्टाग्राम र ब्लगमा प्रायोजित सामग्री राख्न तिरिएको शुल्कको अध्ययन गरेको हो।

सामाजिक सञ्जालमा माइक्रो इन्फ्यूअन्सर भनिने एक लाखभन्दा कम फलोअर भएका व्यक्तिदेखि चर्चित व्यक्तिहरू सबैका लागि त्यहाँ आयको राम्रो अवस्था रहेको सो प्रतिवेदनले जनाएको छ।

प्रतिवेदनका केही तथ्याङ्कहरू यस्ता छन्:

  • सन् २०१८ देखि सन् २०१९ सम्ममा इन्स्टाग्राममा प्रयोजित सामग्रीको मूल्य ४४ प्रतिशत बढ्यो
  • सन् २००६ मा ७.३९ अमेरिकी डलर मूल्य रहेको प्रायोजित ब्लगको मूल्य सन् २०१९ मा १,४४२ पुग्यो
  • सबैभन्दा महँगो यूट्युबका भिडिओ रहेका छन् जसको मूल्य सन् २०१९ मा ६,७०० अमेरिकी डलर रहेको छ
  • फेसबुक स्टाटसको मूल्य सन् २०१४ को ८ डलरबाट सन् २०१९ मा ३९५ डलर पुगेको छ
  • ट्वीटको मूल्य २९ डलरबाट २४४ डलर पुगेको छ

कानुनको अड्चन?

सामाजिक सञ्जालमा चर्चित बनेर पैसा कमाउन धेरै मानिसहरू आकर्षित हुन थालेपछि नियामकहरूको नजरमा पर्न थालेको छ।

बीबीसीका अनुसार गएको महिना तीनजना इनस्टाग्राममा प्रसिद्ध व्यक्तिहरूले यूकेमा विज्ञापन गर्न प्रतिबन्ध लगाइएको खाद्य सामग्रीको बारेमा तस्बिर हालेपछि धेरैले उनीहरूलाई गैरजिम्मेवार भने।

सन् २०१९ को सुरुमा यूकेको कम्पीटिशन एन्ड मार्केट्स अथोरीटीले विज्ञापन नलेखी प्रायोजित तस्बिर राख्दा उपभोक्ता कानुन तोडिने सूचना जारी गरेको थियो।

त्यसपछि १६ जना प्रसिद्ध व्यक्तिहरूले आफूले प्रायोजित सामग्री पोस्ट गर्ने तरिका परिवर्तन गर्ने बताएका थिए।

सोसलबेकरका अनुसार व्यापारिक संस्थाहरूले सामाजिक सञ्जालको विज्ञापनमा अझै पैसा खर्च गर्नेछन्।

उसको अध्ययन अनुसार गत वर्ष प्रायोजित सामग्रीहरू १५० प्रतिशतले वृद्धि भएको थियो।

सोसलबेकरले सन् २०२० मा सामाजिक सञ्जालको विज्ञापन बजार १० अर्ब डलरको पुग्ने अनुमान गरेको छ।