मानागुवा, रासस÷एएफपी । निकारागुवामा सामाजिक सुरक्षा सुधार सम्बन्धी नयाँ कानूनको विरोध भई हिंसात्मक प्रदर्शनमा परिणत भएपछि राष्ट्रपति डानियल ओर्टेगाले यस कदमहरूलाई फिर्ता र्लिएका छन् । 
 
ओर्टेगाले आन्दोलनकारीहरुलाई वार्तामा आउन आग्रह गर्दै हिंसा रोक्न अपिल गरेका हुन् । तर प्रदर्शनको नेतृत्व गर्दै आएका नेताहरूले भने सरकारले विपक्षीहरूमाथि दमन रोकेपछि मात्रै वार्तामा बस्ने अडान लिएका छन् । 
 
गत बुधवार पेन्सन र सामाजिक सुरक्षा भत्ता कटौतीको घोषणा भएपछि सुरु भएको हिंसात्मक प्रदर्शनमा विद्यार्थीहरूको समेत सहभागीता रहेको थियो । 
 
निकारागुवामा भएको यस प्रदर्शनको क्रममा २५ व्यक्ति मारिएका अधिकारवादी समूहहरूले जनाएका छन । अन्ततः राष्ट्रपति डानियल ओर्टेगालाई सरकारले गरेको सामाजिक सुुधारको सबै निर्णय फिर्ता लिनु एकमात्रै समाधान भएको निर्णयमा पुग्नु भएको हो । 
 
निकारागुवाको राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति ओर्टेगाले कैयौँ व्यक्तिकोे ज्यान समेत लिने गरी व्यापक विरोध निम्त्याएको सामाजिक सुरक्षा प्रणालीतर्फका सुधारका कदमहरू फिर्ता लिएको जनाउनु भएको छ । 
 
‘आइएनएसएस’ भनी नामाकरण गरिएको उक्त आदेशले मूख्य रुपमा निवृत्तिभरणमा प्रभाव पार्ने बताइएको छ । विपक्षीहरू र विद्यार्थी समूहसमेतको सहभागीता रहेको यस प्रदर्शनको क्रममा एक स्थानीय पत्रकारसहित २५ व्यक्तिको मृत्यु भईसकेको छ । 
 
सामाजिक सुरक्षा सुधारको कदमहरु फिर्ता गर्ने पछिल्लो निर्णयले अमनचयन पुनः कायम गर्ने राष्ट्रपति ओर्टेगाले विश्वास व्यक्त गरेका छन् । 
 
गत बिहीबार रातिबाट सुरु भएको हिंसात्मक प्रदर्शनको क्रममा सुरक्षा कायम गर्न सडकमा सेनासमेत परिचालन गर्नु परेको थियो । 
 
तर प्रदर्शनकारी र आलोचकहरूले सरकारी निर्णय एकदमै ढिला आएको र सरकारले पछिल्लो संकटलाई राम्ररी सम्बोधन नगरेको बताएका छन् । 
 
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार राष्ट्रपति ओर्टेगाको राजीनामा मागिरहेका प्रदर्शनकारीहरूलाई शान्त पार्न पछिल्लो कदम पर्याप्त हुन्छ हुँदैन भन्ने चाँडै स्पष्ट हुने छ ।