-प्रकाश बञ्जारा
यूएई । धनगढी घर भएका रविन्द्र क्षेत्रीले भिजिट भिषामा युएई आएको १५ दिनभित्रै जागिर पाए र उनको धन्यवादको पात्र बन्यो फेसबुक पेज नेपाली इन युएई । गत ४ अप्रिलमा युएई आएका क्षेत्री ७  अप्रिलमा सामाजिक सञ्जाल फेसबुकको नेपाली ईन युएई पेजमा जोडिएका थिए । कसैले पेजमा पदरिक्तताको विज्ञापन हालेको रहेछ, त्यही विज्ञापनमा अनलाईनबाटै आवेदन दिए, अन्तर्वार्तामा सहभागी भए र जागिर समेत पाए । यति भईरहँदा उनी त्यत्तिकै बस्नै सकेनन्, फेरी त्यहि पेजमा फर्किए र पोष्टमार्फत पेजलाई र जागिरको भ्याकेन्सी हालेर ईच्छुकलाई आवेदन दिन हौसाउने व्यक्तिलाई समेत धन्यवाद दिए ।

धनगढीकै सन्तोष मिजार पनि नेपाली ईन युएई पेजबाट लाभ उठाउने नेपालीमा पर्छन् । एकाउण्ट सम्बन्धी ज्ञान भएका  मिजारलाई अर्का युएईमै भएका नेपाली खगेन्द्र श्रेष्ठले “एकाउण्ट जानेको कोही हुनुहुन्छ ?” भन्दै पेजमा हालेको एउटा पोष्टले सहयोग पुर्यायो । मिजारले त्यहि पोष्टमा कमेन्ट गरे र म्यासेजमा बायोडाटा सेयर गरे । अन्तर्वार्ता दिए अनि पास पनि भए । अहिले उनले कम्पनी परिवर्तन गरेर नयाँ कम्पनीमा काम गरेको पनि २ महिना जति भइसकेको छ । 

झण्डै आधालाख सदस्य भएको नेपाली ईन युएई युएईमा भएका नेपाली कम्युनिटीको सबभन्दा ठूलो पेजको रुपमा चिनिसकेको छ । त्यसो त पेज जन्मेको मात्रै पनि झण्डै एक दशक भएछ । प्रवासमा भएका एक अर्का नेपालीमा गुनासा, जिज्ञासा तथा सूचना साटासाट गर्ने एउटा साझा चौतारी जस्तै बनेको छ यो नेपाली पेज । सदस्यहरुले सामान्यदेखि सामान्य मोवाइलमा रिचार्ज गर्नेदेखि लिएर युएईमा  डिभोर्स गर्ने तरिका, कोर्ट म्यारिज कसरी गर्ने जस्ता गम्भीर जिज्ञासाहरु समेत राख्ने गरेको पेजका सँचालक महेश थापा बताउँछन् । महेशजस्तै यो पेजलाई चुस्तदुरुस्त र सफा राख्न जम्मा ७ जना एडमिनिस्ट्रेटरहरु छन्, जो आफ्नो कम्पनीको कामसँगै प्रवासका नेपाली–नेपाली बीचका सूचना र जानकारीको आदान प्रदानमा क्रियाशील भूमिका निर्वाह गरिरहेका छन् । 

बिजशालासँगको कुराकानीमा थापाले पेजमार्फत नेपाली समुदायलाई र सदस्यलाई सहयोग पुग्ने सामाग्री मात्र अनुमति दिने जानकारी गराए । एकपक्ष नेपालीलाई नै आवश्यक परिरहेका जब भ्याकेन्सि, जब रिक्वेस्ट, रुम तथा बेड स्पेस पोष्टहरु पेजमा बढी आउने गरेका छन् । नेपालीहरु भिजिट भिषामा आएर काम खोज्ने सिलसिला बढेसँगै काम खोजी गरिदिन थुप्रै पोष्टहरु पेजमा आउने गरेका छन् । पेजमार्फत जव भ्याकेन्सि हालिदिने नेपालीहरु कतिपय दलालहरु समेत रहेका र कमिसनमा काम गर्ने गरेको पाइन्छ । साथै कतिपय नेपालीहरुले त वेड स्पेस, रुम रेन्ट जस्ता पोष्टहरु पेजमा हालेर आफ्नो व्यापार पनि राम्रो गरिरहेको थापा बताउँछन् । पेजको लोकप्रियता बढेसँगै सशुल्क विज्ञापनका अनुरोधहरु पनि आउने गरेको बताउने थापा निकट भविष्यमा व्यवसायिक रुपमा राखिने पोष्टहरुलाई विज्ञापनको रुपमा लिएर च्यारिटेवल काममा खर्च गर्ने योजना सुनाउँछन् । 

पेजमा पोष्ट गर्दा सभ्य भाषाको प्रयोग गर्नुका साथै आफूलाई जानकारी नभएको कुराहरु ीनर्धक्क राख्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई थापाको सुझाव छ । 

युएईका नेपालीकै लागि भनेर खोलिएको अर्को पेज नेप्लीज इन दुवई युएई झण्डै पाँच बर्षदेखि नेपालीहरुलाई सूचना आदानप्रदानमा क्रियाशील छ । पेजका एड्मिनिस्ट्रेटर कैलाश मोक्तानका अनुसार युएईमा रहेका नेपालीलाई आवश्यक पर्ने रुम तथा वेड स्पेसको जानकारीसँगै भिजिट भिषामा युएई आएर काम खोजी गरिरहेका नेपालीहरुलाई एकअर्कामा जोड्ने आफ्नो पेजको मूल उद्देश्य रहेको मोक्तानले बिजशालालाई जानकारी दिए । सन् २०१३ मा किशोरजँग थापाले सुरु गरेको यो पेजमा साढे चारहजार नेपाली जोडिएका छन् । 

यी जस्तै युएई दुवईमा नेपाली, नेपाली कम्युनिटी ईन दुवई युएई जस्तै झण्डै आधा दर्जन पेजहरु छन् र यी पेजहरु धेरै भिजिट भिषामा रहेर कामको खोजीमा रहेका नेपालीका अनुरोधले भरिने गर्छन् । 

सूचना आदानप्रदान गर्नेदेखि लिएर आफूलाई चाहिएको कानुनी, सामाजिक तथा अन्य जानकारीहरु जानकारहरुबाट तुरुन्त पाईने हुँदा युएईको हिसाबमा निकै उपयोगी बनेको छ सामाजिक सञ्जाल र यस्ता पेजहरु । कुनै समय हुलाकी सेवा तथा स्वयम् गएर मात्र जानकारी लिन सकिने अबुधावीस्थित नेपाली राजदुताबासका सूचनाहरु पनि अहिले सामाजिक सञ्जालमै भेटिन्छन् । सूचना तथा प्रविधिको विकाससँगै दूताबासले पनि नेप्लीज एम्बेसी अबुधावी युएई नामको पेज सञ्चालन गरेर प्रवासीलाई चाहिने आवश्यक सूचनाहरु पेजमार्फत नै उपलव्ध गराउँदै आइरहेको छ । 

बिजशालासँगको कुराकानीमा दुतावासका दितीय सचिव कृष्ण अर्यालले हरेक दिन बिहान कार्यलय समयअघि र बेलुका कार्यालय समयपछि दुतावासले पेजमा आएका जिज्ञासा, सूचना तथा जानकारीहरु हेर्ने, माग गरिएका सूचनाको जवाफ समेत फर्काउने गरेको बताए । दुतावासले पेजमा आएका म्यासेजको जवाफ नफर्काउने गरेको गुनासो आइरहेको छ नि भन्ने जिज्ञासामा अर्यालले भने, “हामिले शतप्रतिशत गरेका छौँ भन्न त नसकिएला, तर सकेसम्म र दूतावासबाट  हुनेसम्मका सूचना हामी कार्यतालिका अनुसार दिन्छौँ र यहि हामीबाट नहुने भए सम्बन्धित बिभागमा सम्पर्क गर्न जानकारी समेत दिने गरेका छौ।” 

सामाजिक सञ्जालका प्रयोगकर्तालाई युएईको साइवर कानुन २०१२  अनुसार व्यक्तिगत तथा सँस्थागत मानहानी हुने खालका सामाग्री सामाजिक सञ्जालमा पोष्ट गर्न तथा लाईक गर्न र ट्याग गर्न समेत नपाईने भएकाले त्यसलाई मध्यनजर गरेर सामाजिक सञ्जालको उपयोग गर्न युएईका नेपालीलाई दुताबासको अनुरोध छ । 

सामाजिक सञ्जालमार्फत समाजमा विकृति फैलाउने काम बढिरहेकाले त्यस्ता खालका पोष्टहरुमा लाईक, कमेन्ट तथा सेयर गर्ने काम नगरी सामाजिक सञ्जाललाई एउटा सूचनाको माध्यम मानेर यसको उपयोग गरिनुपर्ने  नेपाल पत्रकार महाँसघ युएईका अध्यक्ष भुपराज बस्यालले बताए ।  सामाजिक सञ्जाललाई सदुपयोग गर्ने हो भने यसबाट धेरै कुरा सिक्न र जानकारी लिन सकिने भएकाले यसलाई नकारात्मक रुपमा गलत समाचार बाहिर जाने गरी प्रयोग गर्न नहुने अध्यक्ष बस्यालको भनाई छ। 

सामाजिक सञ्जाललाई सूचना, आपतविपदमा उद्घारका लागि प्रयोग गर्न र  सवारी दुर्घटनाजस्ता घटनाको फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा नहाल्न र यदि कसैले हालेको पाएमा त्यसमा लाईक, कमेन्ट तथा सेयर नगर्न युएईमा रहेका नेपालीलाई नेपाल पत्रकार महासंघ यूएई च्याप्टरले सुझाव दिएको छ ।