काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा ४२.६४ प्रतिशतको गिरावट आएको छ।

चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा १ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा २ करोड ३० लाख रुपैयाँ रहेको थियो। 

यो त्रैमासमा संस्थाले १ करोड ९९ लाख रुपैयाँमात्र सञ्चालन मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३ करोड ६८ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानीबापत ८ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्ष ७ करोड ६० लाख रुपैयाँ रहेको थियो। 

संस्थाले समीक्षा अवधिमा ५६ करोड २० लाख रुपैयाँ सापटी लिई १ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष संस्थाले ४४ करोड ६७ लाख रुपैयाँ सापटी लिई ८९ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिमा संस्थाले १६.६१ प्रतिशतले रिजर्भको आकार बढाएको छ। अघिल्लो वर्ष ७ करोड ५६ लाख रुपैयाँको रिजर्भ बढेर ८ करोड ८१ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

संस्थाको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको छ। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १३.२३ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) भने ७२.२० गुणा रहेको छ। प्रतिसेयर नेटवर्थ १८८.१९ रुपैयाँ रहेको छ।