काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओमा दोश्रो दिनसम्म अचाक्ली आवेदन परेको छ । यो कम्पनीको आइपीओमा दोश्रो दिन सोमबार दिउँसो ३ः५० बजेसम्म १ लाख ५ हजार १ सय २३ जनाले आवेदन दिएका हुन् ।

यो समयसम्म ६८ करोड ७५ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परेको सिडिएससीले जनाएको छ । यसको अर्थ लगानीकर्ताले ६८ लाख ७५ हजार ४ सय ४० कित्ता खरीदका लागि आवेदन दिएका हुन् । 

यो कम्पनीले कुल ३ लाख कित्ता आइपीओ निश्कासन गरेको हो । जसमध्ये १२ हजार कित्ता लघुवित्तका कर्मचारी, १५ हजार कित्ता म्युचुअल फण्ड र बाँकी रहेको २ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

यो हिसाबले सर्वसाधारण लगानीकर्ताबाट दोश्रो दिन अपरान्हसम्म परेको आवेदन माग भन्दा २५.१८ गुणाले बढी हो । 

यसअघि यो कम्पनीले २०७४ माघ ९ गतेदेखि १२ गतेसम्म आइपीओ निश्कासनको घोषणा गरेको थियो । तर, माघ ८ गते यो कम्पनीले आइपीओ निश्कासन हुने मिति स्थगन भएको बताएको थियो ।

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका आइपीओ निश्कासन गरेको हो । आइपीओमा मंसिर ५ गतेसम्म आवेदन दिन सकिनेछ । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेड रहेको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १५ सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । 

हाल यो कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको चुक्तापूँजी १० करोड रुपैयाँको उचाईमा पुगेको छ ।