काठमाण्डौ । सामूहिक लगानी कोष(म्युुचुुअल फण्ड) लगानीका लागि सुरक्षित स्थान मानिन्छ । दोश्रो बजारको बिषयमा पर्याप्त ज्ञान नभएका लगानीकर्ताहरुका लागि त म्युचुुअल फण्ड लगानीको अझ राम्रो विकल्प पनि हो । यस्तै, विशेषताका कारण पछिल्लो समय म्युुचुुअल फण्डमा लगानीका लागि सर्वसाधारणले मरिहत्ते गर्न थालेका छन् । यही कुरा बुुझेका मर्चेन्ट बैंकहरुले धमाधम म्युचुुअल फण्ड संचालनको प्रस्ताव धितोपत्र बोर्डमा पेश गर्न थालेका छन् । 

आर्थिक वर्ष २०७३/७४ मा ४ वटा म्युुचुुअल फण्डलाई संचालनको अनुमति दिइएको थियो । नबील इक्वीटी फण्ड, एनएमबी हाइब्रिड फण्ड १, एनआइबिएल प्रगति फण्ड र लक्ष्मी इक्वीटी फण्डले संचालनको स्वीकृति पाएका थिए ।

योसँगै यी चार फण्डले ४ अर्ब २५ करोड मूल्यका इकाईहरु सर्वसाधारणलाई बिक्री गरेका थिए । 

म्युुचुुअल फण्डप्रतिको सर्वसाधारणको आकर्षणकै कारण गत वर्षभन्दा नयाँ आर्थिक वर्षमा यस्ता फण्डहरु अझ ठूलो आकारमा आउने देखिन्छ । गएको आर्थिक वर्षमै आवेदन दिए पनि स्वीकृतिको पर्खाईमा रहेका ६ म्युुचुुअल फण्डले संचालनको स्वीकृति पाएलगत्तै करोडौं रुपैयाँ लगानीको अवसर खुल्नेछ । 

धितोपत्र बोर्डका अनुसार ६ कम्पनीले म्युुचुुअल फण्ड संचालनको अनुमति माग्दै ६ अर्ब १० करोड बराबरको इकाई सार्वजनिक निश्कासनको रुपमा ल्याउने प्रस्ताव पेश गरेका छन् ।

सिद्धार्थ क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सानिमा क्यापिटलले क्रमशः १ अर्ब २० करोडको सिद्धार्थ इकवीटी फण्ड, ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ र सानिमा इकवीटी फण्ड संचालनका लागि आवेदन दिएका छन् । यस्तै, सीबीआईएल क्यापिटलले सिटिजन म्युुचुुअल फण्ड १, एनआइसी एशिया क्यापिटलले एनआइसी एशिया ग्रोथ फण्ड र एनआइबिएल क्यापिटल लिमीटेडले एनआइबिएल सहभागिता फण्ड संचालनका लागि आवेदन दिएका छन् । सिटिजन र एनआइसी एशियाले प्रस्ताव गरेको फण्ड १ अर्ब मूल्यका हुन् । यसअघि नै २ वटा म्युुचुुअल फण्ड संचालन गरिसकेको एनआइबिएल क्यापिटलले भने ५० करोडको खुल्लामुखी स्कीम संचालनको प्रस्ताव पेश गरेको हो । 

सिद्धार्थ इक्वीटी फण्ड संचालनका लागि २०७३ असोजमा आवेदन दिइएको हो भने बाँकी फण्ड संचालनको स्वीकृति माग्दै २०७४ सालमा आवेदन दिइएको हो ।