काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा टेड्रोस एडोनोम गेब्रिएससले कोरोनाभाइरविरुद्धको भ्याक्सिन चाँडै उपलब्ध हुने आश रहे पनि उपयुक्त र भरपर्दो भ्याक्सिन पत्तै नलाग्ने सम्भावना रहेको बताएका छन्। 

प्रमुख टेड्रोसले अहिले नै प्रभावकारी भ्याक्सिन पत्ता लाग्ला भन्ने सकिने अवस्था नरहेको र सायद पत्तै नलाग्न सक्ने सम्भावना पनि रहेको बताएका हुन्। उनले विश्वभर यो भाइरसको संक्रमणबाट बच्ने सामाजिक दूरी, हात राम्ररी धुने र मास्क लगाउने नियम बनाइएकोले आउँदा दिन पनि यी कुरालाई निरन्तर जारी राख्नुपर्ने सुझाव दिए। 

ट्रेडोसले यसअघि पनि यो भाइरसबाट प्रभाव सायद नहराउने भएकोले मानिसले योसँगै जिउने बानी बसाल्नुपर्ने अवस्था आउने बताउँदै आएका छन्। ‘यो भाइरस अन्यको तुलनामा निकै फरक छ’, उनले भन्दै आएका छन्, ‘मौसम परिवर्तनको असर यो भाइरसमा खासै पर्दैन किनकि यो मौसमी भाइरस होइन।’

प्रमुख टेड्रोसले कोरोना संक्रमण भएको आशंका गरिएका वा पुष्टि भएका भर्खरै आमा बनेकाहरुलाई स्तनपान गराउनबाट रोक्न नहुने सुझाव दिएका छन्। ‘हामीलाई थाहा छ कि ठूलाका तुलनामा साना बालबालिकालाई यो भाइरसको जोखिम कम हुन्छ, तर ती बालबालिकालाई अन्य रोग लाग्ने सम्भावना हुन्छ’, उनले भने, ‘त्यसैले त्यस्ता रोगबाट बचाउन पनि बालबालिकालाई नियमित स्तनपान गराउनुपर्छ। अहिलेको अवस्थामा संक्रमित वा आशंकित संक्रमित आमाले आफ्ना दूधे बालबालिकालाई स्तनपान गराउन अति जरुरी छ।’ – एजेन्सी