काठमाण्डौ । तपाईले पकेटमा बोकिरहेको स्मार्टफोन पड्कियो भने के होला ? सुन्दै आङ सिरिङ्ग हुने डरलाग्दो घटना भएपछि चिनियाँ कम्पनी सायोमीको बिक्रीमा मन्दी आएको छ । भारतका एक युवकले पकेटमा सायोमीको रेड्मी नोट फोर(Redmi Note-4) मोवाइल बोकिरहँदा एक्कासी पड्किएर आगो लागेको थियो । 

घटना आन्ध्रप्रदेशको पूर्वी गोदावरी जिल्लाको रावुलापालेमको हो, जहाँ ती युवकले पकेटमा राखेको सायोमीको स्मार्टफोन पड्किएको आजतकले जनाएको छ । 

रिपोर्टका अनुसार मोवाइल पड्किएका कारण युवक गम्भीर घाइते भएका छन् । उनको तिघ्रामा निकै गहिरो चोट लागेको र सो भाग पूरै जलेको छ । 

सायोमीका एक प्रवक्तालाई उद्धृत गर्दै बताइएअनुसार घटनापछि कम्पनी गम्भीर बनेको छ । ती प्रवक्ताले आफूहरुले ग्राहकको सुरक्षामा विशेष ध्यान दिने बताए । उनले आफूहरुको सबै उत्पादन सघन क्वालिटी टेस्टपछि मात्र बजारमा जाने दाबी गर्दै भनेका छन्–‘हामी ती युवकलाई सम्पर्क गर्न खोजिरहेका छौ र पड्किएको मोवाइलमा के खराबीका कारण त्यस्तो भएको हो भन्ने बिषयमा गम्भीर जाँच गर्नेछौ ।’ 

सूूर्यकिरण नामका युवकले फोन चार्ज गरेपछि सायोमीको स्मार्टफोन गोजीमा राखेर बाइकबाट आफ्नो पसल जाँदै गर्दा यो घटना भएको बताइएको छ । पकेटमा पड्किएर आगो लागेको स्मार्टफोनमा फालेको केही समयसम्म आगो लागेको थियो । 

सूूर्यकिरणले सायोमीको रेड्मी नोट फोर २० दिनअघि मात्र खरीद गरेका थिए । ती युवकले सायोमीविरुद्ध अदालत जाने समेत तयारी गरिरहेको मिडिया रिपोर्टमा बताइएको छ । 

यसभन्दाअगाडि समेत सायोमीको रेड्मी नोट फोर विस्फोट भएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । तर, छानबिनको क्रममा सो भिडियो नक्कली साबित भएको थियो।