काठमाण्डौ । लामो समयदेखि आफूले उठाउँदै आएको सार्वजनिक विदा कटौतिको माग पूरा भएपछि नेपाल चेम्बर अफ कमर्सले खुशी व्यक्त गरेको छ । 

चेम्बरले विज्ञप्ति प्रकाशित गरी सरकारले सराहनीय कार्य गरेको भन्दै धन्यवाद समेत व्यक्त गरेको छ । 

‘हामीले निरन्तर राख्दै आएको मागको सुनुवाई गरी विदा कटौती गरेकोमा हामी सरकारप्रति आभार व्यक्त गर्दछौ।'-चेम्बरद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

बढी सार्वजनिक विदाका कारण मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पारेको भन्दै चेम्बरले विदा कटौती गर्न सरकारसँंग निरन्तर माग राख्दै आएको थियो । प्रधानमन्त्री, मन्त्रीलगायतका उच्चपदस्थ सरकारी अधिकारीहरुसँंगको प्रत्येक भेटमा चेम्बरले यो माग राख्दै आएको थियो । साथै, चेम्बरले सार्वजनिक विदाहरुमा बैंक तथा वितीय संस्थाहरु सञ्चालनको माग पनि राख्दै आएको थियो । 

बुधबार बसेको क्याबिनेटले २०७५ सालका लागि सार्वजनिक बिदा स्वीकृत गरी विदा कटौती गरेको निर्णय गरेको थियो । सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको थियो ।

यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ ।