काठमाण्डौ । साहारा विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को सूचना सम्प्रेषणमा गडबडी भएको छ । 

यो बैंकको पुस २० गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २३ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको थियो । 

बैंकको संचालक समितिको बैठक बसेको दिन शुक्रबार रहे पनि त्यो दिन समेत बैंकले सूचना सम्प्रेषण गरेन । पुस २१ गते शनिवार भएकोले नेप्सेमा त्यो सूचना आउने कुरै भएन ।  

कम्पनीले आइतबार(पुस २२ गते)को मितिमा नेप्सेलाई पत्र लेख्दै लाभांश सम्बन्धी सूचना सम्प्रेषण गरेको थियो । तर, नेप्सेले भने सोमबार(आज) मात्रै बैंकको बोनस सेयर सम्बन्धी सूचना सम्प्रेषण गर्यो ।

पछिल्लो समय विभिन्न कम्पनीले सूचिकरण विनियमावली तथा संस्थागत सुशासनको खिल्ली उडाइरहेको बेला यस्ता घटना दोहोरिन थालेका छन् ।

साहारा विकास बैंकको हकमा समेत यस्तै प्रवृति देखिएको छ । 

तर, बैंक व्यवस्थापन भने आफूहरुबाट सूचना सम्प्रेषणमा कुनै कमजोरी नभएको दाबी गर्छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत बिनयकुमार साहले बिजशालासँग कुरा गर्दै शुक्रबार साँझ संचालक समितिको बैठक बसेकोले आइतबार मात्रै नेप्सेलाई जानकारी गराइएको दाबी गरे । 

'आइतबार हामीले समयमै नेप्सेलाई बोनस सेयर वितरणको निर्णयको बिषयमा जानकारी गराएका थियौं ।' साहले दाबी गर्दै भने-'तर त्यो सूचना सोमबार(आज) मात्र किन प्रकाशित भयो, हामीलाई थाहा भएन ।' 

नेप्सेले भने साहारा विकास बैंकबाट आइतबार अबेर मात्र सूचना आएकोले सो दिन प्रकाशित गर्न नसकिएको दाबी गरेको छ । 

उसो भए साहाराको लाभांश सम्बन्धी सूचना सम्प्रेषणमा कसले गल्ती गर्यो त ? बैंकले वा नेप्सेले ? खोजीको विषय बनेको छ । 

बैंकबाट झूठ बोलिएको हो र गल्ती उहीबाट भएको हो भने सूचिकरण विनियमावलीको कमजोर पक्षको फाइदा उठाएर नेप्सेमाथि सूचिकृत कम्पनीहरुबाट भएको हेपाहा प्रवतिको पछिल्लो उदाहरणको रुपमा यसलाई लिनुपर्नेछ । 

बैंकले भनेजस्तै नेप्सेबाट सूचना प्रकाशनमा ढिलाई भएको हो भने यो विषय गम्भीर विषय हुनसक्छ । सूचिकृत कम्पनीले बेलैमा पठाउने लाभांश सम्बन्धी निर्णयका सूचनालाई नेप्सेले बेलैमा प्रकाशित नगर्नु पछाडिको के स्वार्थ हुनसक्छ ? खोजीको बिषय हुनसक्छ ।