काठमाण्डौ । साहारा विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को सूचना सम्प्रेषणमा खेलेको छ ।

यो बैंकको पुस २० गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २३ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको थियो । 

बैंकको संचालक समितिको बैठक बसेको दिन शुक्रबार रहे पनि त्यो दिन समेत बैंकले सूचना सम्प्रेषण गरेन । पुस २१ गते शनिवार भएकोले नेप्सेमा त्यो सूचना आउने कुरै भएन ।  

कम्पनीले आइतबार(पुस २२ गते)को मितिमा नेप्सेलाई पत्र लेख्दै लाभांश सम्बन्धी सूचना सम्प्रेषण गरेको थियो । तर, नेप्सेले भने सोमबार(आज) मात्रै बैंकको बोनस सेयर सम्बन्धी सूचना सम्प्रेषण गर्यो ।

पछिल्लो समय विभिन्न कम्पनीले सूचिकरण विनियमावली तथा संस्थागत सुशासनको खिल्ली उडाइरहेको बेला यस्ता घटना दोहोरिन थालेका छन् । साहारा विकास बैंकको हकमा समेत यस्तै प्रवृति देखिएको छ । 

तर, बैंक व्यवस्थापनले भने बिजशालासँग कुरा गर्दै आफूहरुबाट सूचना सम्प्रेषणमा कुनै कमजोरी नभएको दाबी गरेको थियो ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत बिनयकुमार साहले बिजशालासँग कुरा गर्दै शुक्रबार साँझ संचालक समितिको बैठक बसेकोले आइतबार समयमै नेप्सेलाई जानकारी गराइएको दाबी गरेका थिए ।

तर, अन्ततः उनको दाबी सही नभएको खुलेको छ । 

नेप्सेस्थित स्रोतले दिएको जानकारी अनुसार मिडियासँग समयमै लाभांश सम्बन्धी निर्णयको सूचना पठाइएको दाबी गर्ने बैंकले नै बदनियत राखेर साँझमा मात्र सूचना पठाएको भेटिएको छ । 

बैंकले नेप्सेलाई लाभांशको निर्णय सम्बन्धी सूचना पठाएको थियो, र त्यसको सीसी सीइओ साहलाई समेत गरिएको थियो ।  

जनवरी ६ अर्थात आइतबार साँझ ६ः४५ बजे मात्र नेप्सेमा साहारा विकास बैंकको मेल आएको देखिएको छ ।  

उनले ढिलोगरी लाभांशको निर्णय प्रकाशित भएको बिषयमा बिजशालासँग कुरा गर्दै भनेका थिए–‘आइतबार हामीले समयमै नेप्सेलाई बोनस सेयर वितरणको निर्णयको बिषयमा जानकारी गराएका थियौं । तर त्यो सूचना सोमबार(आज) मात्र किन प्रकाशित भयो, हामीलाई थाहा भएन ।’ तर उनको यो दाबी झूठो प्रमाणित भएको छ । 

बैंकको झूठ पुष्टि भएसँगै ऊमाथि नेप्सेबाट कस्तो कारबाही हुन्छ, त्यो प्रतिक्षाको विषय बनेको छ ।