काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा सानिमा बैंक लिमीटेडले उत्साहप्रद रिपोर्ट  निकालेको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा खूद नाफातर्फ २७.३३ प्रतिशतको प्रगति गरेको यो बैंकले अधिकांश सूचकहरुमा आफूलाई बलियो बनाउँदै लगेको प्रमाण पेश गरेको छ ।

सानिमा बैंकले समीक्षा अवधिमा १ अर्ब २० करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ९४ करोड ६९  लाख रुपैयाँ रहेको थियो । यो बैंकले तेश्रो त्रैमासमा खूद नाफा १ अर्ब माथि कटाएको यो नै पहिलोपटक हो ।

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण बैंकले खूद ब्याज आम्दानीतर्फ पनि कमालको प्रगति हासिल गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको खूद ब्याज आम्दानी १ अर्ब ६५ करोड रुपैयाँमा सीमित रहेकोमा त्यो बढेर यो वर्ष २ अर्ब ७ करोडको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष १ अर्ब ४३ करोडमा सीमित संचालन नाफा बढेर यो वर्ष १ अर्ब ८४ करोड पुगेको छ ।

बैंकले निक्षेप र कर्जा परिचालनमा समेत सन्तोषजनक  प्रगति गरेको छ । समीक्षा अवधिमा बैंकले ७१ अर्ब ५३ करोड निक्षेप संकलन गरी ६४ अर्ब ३२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ५३ अर्ब ४३ करोड निक्षेप संकलन गरी ४८ अर्ब ५९ करोड कर्जा परिचालन गरेको थियो ।

बैंकले निस्क्रिय कर्जालाई भने नियन्त्रणमा राख्न सकेन । अघिल्लो आर्थिक वर्षको यही  अवधिमा बैंकको यस्तो कर्जा ०.०४ प्रतिशत रहेकोमा त्यो बढेर यो वर्ष ०.१७ प्रतिशत पुगेको छ । 

बैंकले आफ्नो रिजर्ब कोषको आकारलाई समेत थप मजबुत बनाएको छ । अघिल्लो वर्ष कोषमा १ अर्ब ७४ करोड रहेकोमा बढेर समीक्षा अवधिमा २ अर्ब २५  करोड रुपैयाँको उचाईमा पुगेको छ ।

बढेको चुक्तापूँजी अनुसार नाफा हुन नसक्दा वार्षिकीकृत प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष यही अवधिमा २३.८० रुपैयाँ रहेको इपीएस घटेर २०.०९ रुपैयाँमा सीमित  बन्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ  १२८.२४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.७ गुणा कायम भएको छ ।