काठमाण्डौ । कोरोनाभाइरस महामारीका कारण सिंगापुरजस्तो धनी देश आर्थिक मन्दीको चपेटामा परेको छ। 

समाचार एजेन्सी एएफपीका अनुसार सिंगापुरमा यो वर्षको दोस्रो त्रैमासदेखि आर्थिक मन्दी देखिएको छ। यो त्रैमाससम्म सिंगापुरको अर्थव्यवस्थामा ४१.२ प्रतिशतको गिरावट देखिएको छ। 

सिंगापुरको वाणिज्य मन्त्रालयका अनुसार गत वर्षको तुलनामा अप्रिलदेखि जुनसम्म सिंगापुरको अर्थव्यवस्थामा १२.६ प्रतिशतको गिरावट आएको छ। किनकि कोरोना रोकथामका लागि सिंगापुरमा कठोर प्रतिबन्धहरु लगाइएका थिए। 

बितेको १० वर्षयता पहिलोपटक सिंगापुर मन्दीमा धकेलिएको हो। 

सिंगापुरको वाणिज्य मन्त्रालयका अनुसार दोस्रो त्रैमासमा जीडीपीले देखिएको गिरावटको प्रमुख कारण कोरोना रोकथामका लागि लगाइएको प्रतिबन्धहरु नै रहेको छ। यी प्रतिबन्धकहरुका कारण सबै गैरजरुरी सेवा तथा अधिकांश उद्योगधन्दा र कार्यालय बन्द हुँदा अर्थव्यवस्थामा नराम्रो असर परेको मन्त्रालयले जनाएको छ। 

यो संकुचन विश्वभर देखिएको आर्थिक गिरावटका कारण मागमा कमी आउँदा पनि देखिएको मन्त्रालयले स्पष्ट पारेको छ। 

विश्व व्यापारको अवस्था बताउने ब्यारोमिटरका रुपमा रहेको सिंगापुरमा देखिएको मन्दीले विश्वलाई नै झट्का दिन सक्ने बताइएको छ। सिंगापुरको यो डरलाग्दा आर्थिक गिरावटले विश्व अर्थव्यवस्थाका लागि खतरनाक हुन सक्ने संकेत देखिएको छ। – एजेन्सी