काठमाण्डौ । उद्योगी व्यवसायीहरुले व्यापारीलाई थुनेर व्यापार व्यवसाय नचल्ने भन्दै सरकारलाई सचेत गराएका छन् । 

नेपाल चेम्वर अफ कमर्सको एक प्रतिनिधिमण्डलले बिहीबार वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मालाई सिंहदरबारमा भेटी गल्ती गर्ने व्यापारीलाई मात्रै कारबाही गर्नुपर्ने माग राखेका हुन् । 

चेम्वर अध्यक्ष राजेशकाजी श्रेष्ठको अगुवाईमा गएको प्रतिनिधिमण्डलले कसूर प्रमाणित नभई कसैले गरेको उजुरीको आधारमा व्यापारीलाई थुन्ने परिपाटीको अन्त हुनुपर्ने माग राखे । 

उपभोक्ता संरक्षण सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको परिच्छेद ९ को कसुर र सजाय सम्वन्धी व्यवस्थाको दफा ५१ सजाय १ को ‘ग’ मा दफा ५० को खण्ड च विपरीत काम गर्ने वा गराउनेलाई १० वर्षसम्म कैद, १० वर्षसम्म जरिवाना वा दुवैको व्यवस्था भएको भन्दै त्यसलाई हटाउनुपर्ने माग श्रेष्ठले राखे । उनले व्यापार घाटा कम गर्न निर्यातलाई बढाउने वातावरण बनाउनुपर्नेमा जोड दिंदै यसका लागि निर्यातयोग्य वस्तुहरुको उत्पादन र प्रबद्र्धनलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

भेटघाट कार्यक्रममा मन्त्री विश्वकर्माले कर तिर्ने व्यापारी देशको मेरुदण्ड भएको बताउँदै व्यापारीहरुको सल्लाह अनुसार आफू अगाडि बढ्ने प्रतिबद्धता जनाए । करदाताहरुको सुरक्षा तथा विकासको पक्षमा आफू रहेको स्पष्ट पार्दै उनंले व्यापार घाटा कम गर्न निर्यातलाई बढाउन आफूले कोसिस थालेको जानकारी दिए ।