काठमाण्डौ । चौधरी ग्रुपलाई चिनाएको सीजी ब्राण्डका इलेक्ट्रोनिक्स उत्पादनहरुको स्वदेशमा तीव्र बजारीकरणसँगै टेस्टका लागि पहिलोपटक सिंगापुुर र थाइल्याण्ड समेत पठाइएको छ । 

स्वदेशी बजारमा बजेट मूल्यमा उपलब्ध विश्वस्तरीय इलेक्ट्रोनिक्स उत्पादनहरुको बिक्री बढेसँगै चौधरी ग्रुपले सिजी ब्राण्डलाई भविष्यमा अन्तर्राष्ट्रिय मार्केटमा समेत बिस्तार गर्ने योजनाअनुसार पहिलोपटक सिंगापुर र थाइल्याण्डको बजारमा टेस्टका लागि पठाएको हो । 

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी ब्राण्डको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा यो जानकारी गराएका हुन् । ‘हामीले सिंगापुर र थाइल्याण्डको बजारमा सीजी ब्राण्डका उत्पादन टेस्टिङका लागि पठाएका छौ ।‘ भविष्यमा सिजी ब्राण्डका उत्पादन विदेशी बजारमा समेत लैजाने कुनै योजना छ ? भन्ने बिजशालाको प्रश्नमा चौधरीले भने–‘त्यहाँको बजारको टेस्टिङ सफल भए नेपालका लागि यो कोशेढुंगा साबित हुनेछ । नेपाली उत्पादनले समेत विश्वबजारमा तहल्का मच्चाइदिन सक्छ ।’

हाल चौधरी ग्रुपको चर्चित नूडल्स वाई वाई विश्वका ३५ मुलुकमा पुुगिसकेको छ । ‘वाई वाई ३५ देशमा पुगिसक्यो भने सीजी ब्राण्ड चाहि किन बाहिर जान सक्दैन ?’ निर्वाणले भने–‘तर त्यसअघि हामी अझ नेपालमा बिस्तार हुन चाहन्छौ, नेपालीहरुको घर–घरमा पुुग्न चाहन्छौ ।’ 

हाल सीजी ब्राण्ड प्रत्येक ३ नेपालीमध्ये एकजनाको घरमा रहेको उल्लेख गर्दै उनले भने –‘सन् २०२० सम्ममा प्रत्येक घरमा सीजी ब्राण्ड पुर्याउने हाम्रो लक्ष्य रहेको छ ।’ 

चौधरीले नेपाली बजारमा सीजी ब्राण्डको मार्केट सेयर १० प्रतिशतमा सीमित रहेको र प्रत्येक वर्ष १५ प्रतिशतको दरले मार्केट सेयर वृद्धि भइरहेको समेत जानकारी दिए । ‘हामी सन् २०२० भित्र सीजी ब्राण्डको मार्केट सेयरलाई २० प्रतिशतको उचाईमा पुर्याउने योजनाका साथ काम गरिरहेका छौ ।’ उनले भने–‘यसका लागि धेरै ठूला चुनौतिहरु छन्, तर हामी सफल हुनेछौ भन्ने विश्वास छ ।’ 

इलेक्ट्रोनिक्स उत्पादनमा नवीनता र उपभोक्ताको टेस्ट तथा सन्तुष्टि बुुझ्नुपर्ने चुनौतिहरु रहेका भन्दै उनले सन् २०२० को स्पष्ट लक्ष्य प्राप्तिका लागि विश्वस्तरीय प्रोडक्टहरुको लञ्चमा आफूहरु आक्रामक बनिरहेको स्पष्ट पारे । ‘हाम्रा सामान विश्वस्तरीय छन् ।’ उनले थपे–‘तर अरु ब्राण्ड भन्दा करिब आधा मूल्यमा उपलब्ध छन् ।’ उनका अनुसार सीजी ब्राण्डले अहिलेसम्म ४ सय भन्दा बढी ब्राण्ड लञ्च गरिसकेको छ । सीजी ब्राण्डको बजार बिस्तारका लागि देशभर ३ सय भन्दा बढी डिलर तथा बिक्री केन्द्रहरु सक्रिय छन् । उनीहरुमार्फत उपभोक्ताले बजेट मूल्यमा सीजी ब्राण्डका उत्पादन खरीद गर्न पाउँछन् ।