काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक वर्ष २०७४/७५ मा नाफामा उत्साहप्रद प्रगति गरेको छ । आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म १ अर्ब ८ करोड खूद नाफा आर्जन गरेको यो बैंकले आ.ब. २०७४/७५ को चौथो त्रैमाससम्ममा १ अर्ब ४० करोड नाफा कमाएको हो । यो हिसाबले बैंकले खूद नाफातर्फ ३०.२१ प्रतिशतको फड्को मारेको देखिएको छ । 

समीक्षा अवधिको वित्तीय विवरण प्रकाशित गर्ने सिटिजन्स बैंक पहिलो वाणिज्य बैंक बनेको छ । 

यो अवधिमा बैंकले व्यवसाय बिस्तारमा ध्यान दिंदा खूद ब्याज आम्दानी बढेर २ अर्ब ८ करोडको उचाईमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १ अर्ब ७५ करोडमा सीमित थियो । 

बैंकले १ अर्ब ३ करोडमा सीमित संचालन मुनाफालाई बढाएर १ अर्ब ६९ करोडको उचाईमा पुर्याएको छ भने निक्षेप तथा कर्जा परिचालनतर्फको प्रगति पनि उत्साहप्रद नै देखिएको छ । 

बैंकले यो अवधिमा ६१ अर्ब ४८ करोड निक्षेप संकलन गरी ५७ अर्ब ९५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ५२ अर्ब ७१ करोड निक्षेप संकलन गरी ४८ अर्ब ४४ करोड कर्जा परिचालन गरेको थियो । 

यो वर्ष बैंकले संभावित जोखिम व्यवस्थापनबाट ४६ करोड ४१ लाख फिर्ता गरेको छ, अघिल्लो वर्ष ७१ करोड ६० लाख फिर्ता ल्याएको थियो । 

बैंकले रिजर्बकोषतर्फ झनै कमालको प्रगति हासिल गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३५ करोड रहेको कोषको आकार बढी २ अर्ब ७६ करोडको उचाईमा पुगेको छ । यो भनेको १०३.६५ प्रतिशतको छलाङ हो । 

बैंकले निस्क्रिय कर्जामा समेत सुधार गरेको छ । अघिल्लो आर्थिक वर्ष २.०२ प्रतिशत रहेको यस्तो कर्जा घटेर समीक्षा अवधिमा १.२५ प्रतिशतमा सीमित बनेको हो । 

समीक्षा अवधिमा बैंकको इक्वीटीमा प्रतिफल १३.९२ प्रतिशत तथा सम्पत्तिमा प्रतिफल १.९४ प्रतिशत कायम भएको छ । कम्पनीले यो अवधिमा आफ्नो कुल कर्जाको १७.९७ प्रतिशत ऋण होम लोन तथा रियल स्टेट लोनमा प्रवाह गरेको देखिएको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७.५३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३४.४६ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात १३.४६ गुणा कायम भएको छ ।