काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले निश्कासन गरेको एफपीओमा दोश्रो दिनसम्म ५.१६ गुणा बढी  आवेदन परेको छ । 

यो बैंकको एफपीओमा पहिलो दिनको तुलनामा दोश्रो दिन आवेदन पर्ने क्रम ह्वात्तै बढेको देखिएको हो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सिटिजन्सले निश्कासन गरेको ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओमा दोश्रो दिनसम्म २३ लाख ९४ हजार ६ सय ३३ कित्ता खरीदका लागि आवेदन परेको हो । पहिलो दिन मंगलबार ७ लाख ७७ हजार ७ सय १० कित्ताका लागि मात्र आवेदन परेको थियो। 

यसरी हेर्दा यो बैंकको ९ करोड २७ लाख ६५ हजार २ सय रुपैयाँ बराबरको एफपीओमा दोश्रो दिनसम्म ४७ करोड ८९ लाख २६ हजार ६ सय रुपैयाँ बढीको आवेदन परेको देखिएको छ । 

कुल २३ हजार २ सय ३१ आवेदकले एफपीओ खरीदका लागि आवेदन दिएका छन् । 

बैंकले मंगलबारदेखि प्रिमियमसहित प्रतिकित्ता रु. २०० को दरले एफपीओ निश्कासन गरेको हो । एफपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

इच्छुकले न्यूनतम ५० देखि अधिकतम २ हजार ३ सय कित्तासम्मका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको छ । 

एफपीओ गरी बाँडफाँड गरेपछि बैंकमा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ । 

सिटिजन्स बैंकको एफपीओलाई इक्रा नेपालले (इक्राएनपी) आइपीओ ग्रेड ३ को प्रमाणपत्र प्रदान गरेको छ । यसको अर्थ कम्पनीको अवस्था औसत छ भन्ने हो । यस्तो कम्पनीमा लगानी गर्दा जोखिम कम हुन्छ । 

इच्छुक लगानीकर्ताले सीआस्वा सदस्य बैंक तथा बित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट दरखास्त दिन सक्ने व्यवस्था मिलाइएको छ ।