काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले निश्कासन गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीको एफपीओमा तेश्रो दिन(बिहीबार)सम्म करिब ९  गुणा बढी आवेदन परिसकेको छ ।

एफपीओमा पछिल्ला दिन झनै बढी आवेदन पर्ने प्रवृति देखिएकोले आज अरु दिनभन्दा अझ बढी आवेदन पर्ने संभावना देखिन्छ । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सिटिजन्सले निश्कासन गरेको ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओमा तेश्रो दिनसम्म ४० लाख बढी कित्ताका लागि आवेदन परिसकेको छ । ४० हजार भन्दा बढीले एफपीओ खरीदका लागि आवेदन दिएका छन् । 

यसरी हेर्दा यो बैंकको ९ करोड २७ लाख ६५ हजार २ सय रुपैयाँ बराबरको एफपीओमा तेश्रो दिनसम्म ८० करोड भन्दा बढीको आवेदन परिसकेको देखिन्छ । 

बैंकले मंगलबारदेखि प्रिमियमसहित प्रतिकित्ता रु.२०० को दरले एफपीओ निश्कासन गरेको हो । एफपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

इच्छुकले न्यूनतम ५० देखि अधिकतम २ हजार ३ सय कित्तासम्मका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको छ । 

एफपीओ गरी बाँडफाँड गरेपछि बैंकमा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ ।