काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले निश्कासन गरेको एफपीओमा १३ गुणा बढी आवेदन परेको छ । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सिटिजन्सले निश्कासन गरेको ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओमा चौथो(अन्तिम) दिन शुक्रबारसम्म ५७ लाख भन्दा केही बढी कित्ताका लागि आवेदन परेको हो । ५६ हजार भन्दा बढीले एफपीओ खरीदका लागि आवेदन दिएका छन् । 

यसरी हेर्दा यो बैंकको ९ करोड २७ लाख ६५ हजार २ सय रुपैयाँ बराबरको एफपीओमा १ अर्ब १४ करोड भन्दा बढीको आवेदन परेको देखिएको छ । 

यो तथ्यांक शुक्रबार ५ बजेसम्मको भएको र कुल आवेदन केही बढ्नसक्ने ग्लोबल आइएमई क्यापिटलकी एक कर्मचारीले बताएकी छिन् । 

बैंकले मंगलबारदेखि प्रिमियमसहित प्रतिकित्ता रु.२०० को दरले एफपीओ निश्कासन गरेको हो । 

इच्छुकले न्यूनतम ५० देखि अधिकतम २ हजार ३ सय कित्तासम्मका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको थियो । 

एफपीओ गरी बाँडफाँड गरेपछि बैंकमा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ ।