काठमाण्डौ । देशको बैंकिङ उद्योगमा मर्जरको लहर छ । राष्ट्रबैंकले सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमा समेत मर्जरलाई प्रोत्साहन हुने खालका कार्यक्रम आउँदैछ । तर, यसभन्दा अघि नै कतिपय बैंक तथा वित्तीय संस्थाहरु भने उपयुक्त पार्टनरको खोजीमा जुटेका छन् । 

यो क्रममा पछिल्लो समय देशको एक वाणिज्य बैंक र राष्ट्रियस्तरको विकास एक विकास बैंकबीच मर्जरको विषयमा निकै गम्भीर कुराकानीहरु भइरहेका छन् । 

बिजशाला स्रोतका अनुसार पछिल्लो समय महालक्ष्मी विकास बैंक लिमीटेड र सिटिजन्स बैंक इन्टरनेशनलबीच मर्जरका लागि थुप्रै प्रयासहरु भइरहेका छन् । 

महालक्ष्मी विकास बैंकका एक संचालकका अनुसार सिटिजन्स इन्टरनेशनल बैंक लिमीटेडले प्राप्तिको प्रस्ताव गरेसँगै दुई बैंकका संचालकहरुबीच थुप्रै पटक कुराकानीहरु भइसकेका छन् । ‘हाम्रो कुरा निकै अगाडि बढिसकेको छ ।’ ती संचालकले बिजशालासँग भने–‘सिटिजन्स बैंकले विभिन्न तह तप्काबाट महालक्ष्मीलाई प्राप्तिको वातावरण मिलाउने कोशिश गरिरहेको छ, यसमा हामी पनि सकारात्मक छौ ।’ 

पछिल्लो समय सिटिजन्स बैंक आफ्नो सञ्जाल तथा प्रभाव रहेको क्षेत्रलाई टार्गेट गरेर विकास बैंक तथा फाइनान्सहरुलाई प्राप्ति गर्ने प्रयासमा छ । यही प्रयास अन्तरगत २ नम्बर प्रदेशमा राम्रो प्रभाव रहेको सहयोगी विकास बैंकलाई हालै मात्र प्राप्ति गरिसकेको छ । 

राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंकमाथि सिटिजन्सले आँखा लगाउनु पछाडिको कारण छ, महालक्ष्मीको ७ नम्बर प्रदेशमा रहेको राम्रो शाखा सञ्जाल तथा प्रभाव, यो विकास बैंकको वासलातको आकार लगायत ।

महालक्ष्मीलाई प्राप्ति गरी सिटिजन्स बैंकले आफ्नो वासलातको आकार सुधार गर्न चाहन्छ भने ७ नम्बर प्रदेशमा आफ्नो प्रभावलाई विस्तार गर्न चाहन्छ । 

महालक्ष्मीस्थित स्रोतका अनुसार सिटिजन्स बैंकले १ बराबर १ को सेयर स्वाप अनुपातमा प्राप्तिको प्रस्ताव गरेको छ । महालक्ष्मी बैंकका सीइओ कृष्णराज लामिछानेले हालै राजीनामा दिएकोले बाँकी कर्मचारीको व्यवस्थापनमा समेत सिटिजन्स बैंकलाई कुनै समस्या छैन । यसकारण समेत सिटिजन्स बैंकले महालक्ष्मीलाई पाएमा प्राप्ति गर्ने भन्दै आफ्ना सबै प्रयास केन्द्रीत गरेको स्रोत दाबी गर्छ । 

यो विषयमा सिटिजन्स बैंकको केही दिनअघि सम्पन्न संचालक समितिको बैठकमा समेत कुराकानी भएको छ । संचालक समितिले महालक्ष्मीलाई प्राप्ति गर्ने गरी सबै प्रयासहरुलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको स्रोत बताउँछ । 

सिटिजन्सको यो प्रयासमा राष्ट्रबैंकले समेत सहयोग गरिरहेको स्रोत दाबी गर्छ । 

सिटिजन्स बैंकका एक संचालकले समेत महालक्ष्मीसँग मर्जरका लागि हालसम्म धेरै प्रयासहरु भइसकेका पुष्टि गरे । ‘उहाँहरु पनि सकारात्मक नै हुनुहुन्छ । तर, यो प्रयासलाई सार्थक बनाउन थप प्रयासहरु हुनुपर्ने देखिन्छ ।’ ती संचालकले भने–‘महालक्ष्मीका सेयरधनी तथा कर्मचारीलाई खुशी बनाएर हामी सो संस्था लिन चाहन्छौ ।’ 

महालक्ष्मी विकास बैंकको काठमाण्डौमा २४ र काठमाण्डौ बाहिर ७८ वटा शाखा रहेको छ । सिटिजन्स बैंकको शाखा संख्या ११७ वटा रहेको छ । 

कस्ता छन् वित्तीय सूचक ?
चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरणका आधारमा हेर्दा सिटिजन्स बैंकको चुक्तापूँजी ८ अर्ब ६२ करोड रहेको छ । रिजर्बमा ३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । 

सिटिजन्सले ७७ अर्ब ४३ करोड बढी निक्षेप संकलन गरेको देखिन्छ भने यो अवधिमा ७५ अर्ब बढी कर्जा प्रवाह गरेको छ । 

तेश्रो त्रैमाससम्म सिटिजन्स बैंकको नाफा ४० करोड ८५ लाख रहेको छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानी रु. १७.११ रहेको छ । 

खराब कर्जाको अनुपात घटाएर ०.९७ प्रतिशतमा सीमित गर्न सफल सिटिजन्स बैंकको रिटेन अर्निङ ४७ करोड ६८ लाख बढी रहेको छ । 

यस्तै तेश्रो त्रैमाससम्म महालक्ष्मी विकास बैंकको चुक्तापूँजी ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ । ३५ अर्ब ४३ करोड बढी निक्षेप संकलन गरी २९ अर्ब ७४ करोड बढी कर्जा प्रवाह गरेको छ । 

यो अवधिसम्म महालक्ष्मी बैंकको रिजर्बमा १ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । यो अवधिसम्म बैंकको नाफा ९ करोड ५७ लाख रुपैयाँ रहेको छ भने ५ करोड १० लाख मात्र रिटेन अर्निङ रहेको छ । 

तेश्रो त्रैमाससम्म महालक्ष्मीको प्रतिसेयर आम्दानी रु. १७.२५ रहेको छ भने निस्क्रिय कर्जाको अनुपात ३.७८ प्रतिशत रहेको छ ।