काठमाण्डौ । विजिनेश ग्रोथको तुलनामा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडको खर्च ह्वात्तै बढेको देखिएको छ । 

कम्पनीले आइतबार प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा बिमा शुल्क आर्जनमा भएको प्रगतिको तुलनामा दाबी भुक्तानी ह्वात्तै बढेको देखिन्छ । जीवन बिमा कम्पनीहरुको हकमा विजिनेश ग्रोथको रफ्तार भन्दा तीव्र गतिमा दाबीभुक्तानी बढ्नु राम्रो संकेत मानिँदैन । 

यो कम्पनीले समीक्षा अवधिमा १ अर्ब ९२ करोड बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आर्जन १ अर्ब १२ करोड थियो । यसरी हेर्दा बिमा शुल्क आर्जन ७१.१० प्रतिशतले बढेको देखिन्छ । 

समीक्षा अवधिमा सिटिजन्स लाइफले ११ करोड २ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो दाबीभुक्तानी ३ करोड ७० लाखमा सीमित थियो । यसरी हेर्दा कम्पनीको दाबीभुक्तानी १९७.४० प्रतिशतले बढेको देखिन्छ । बिमा शुल्क आर्जनको गतिभन्दा दाबीभुक्तानीको गतिमा तीव्रता देखिने यस्ता कम्पनीले गुणस्तरीय विजिनेश गर्न नसकेको देखिने विश्लेषकहरु बताउँछन् । 

कम्पनीको व्यवस्थाप खर्च पनि ह्वात्तै बढेको छ । समीक्षा अवधिमा व्यवस्थापन खर्च बढेर ४६ करोड ६६ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो खर्च ३४ करोड ५९ लाखमा सीमित थियो । 

अघिल्लो वर्ष ६३ करोड ४८ लाखमा सीमित जीवनबिमा कोषको आकार बढाएर समीक्षा अवधिमा १ अर्ब ६७ करोड पुर्याएको कम्पनीले जगेडा तथा कोषको आकार २२ करोड ८६ लाखबाट बढाएर ४९ करोड ६१ लाखको उचाई चुमाएको छ । 

महाविपत्ति जगेडाको आकार पनि ३ करोड २६ लाखबाट बढेर ४ करोड २७ लाख पुगेको छ । 

समीक्षा अवधिका कम्पनीले २० करोड ७ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा १५ करोड ३६ लाखमा सीमित थियो । 

कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय १७ करोड ४२ लाख पुर्याएको छ । यस्तो आय अघिल्लो वर्ष ९ करोड ७२ लाखमा सीमित थियो । 

बिमालेख जारीको मामलामा समेत कम्पनीको सन्तोषजनक अवस्था देखिन्न । अघिल्लो आर्थिक वर्ष ४८ हजार ७८६ वटा बिमालेख जारी गरेको यो कम्पनीले समीक्षा अवधिको वर्षमा २४ हजार ६० बिमालेख मात्र जारी गर्न सकेको देखिन्छ ।