काठमाण्डौ । कोरोना संकटका बीचमा पनि प्रोभिजन लगायतका दायीत्वको व्यवस्थापन गर्दै सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले दोहोरो अंकमा लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ । 

आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा यो बैंकको वितरणयोग्य मुनाफा ९२ करोड ३६ लाख रहेको हो । बैंकको हाल चुक्तापूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ । यो हिसाबले बैंकले यो वर्ष १०.१६ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको देखिन्छ । बैंकले अघिल्लो वर्ष नै दोहोरो अंकको लाभांश बाँड्ने अवस्था बनाइने प्रष्ट्याएको थियो । कोरोनाले धेरै कुरामा नकारात्मक प्रभाव पार्दा समेत ती सबै दायीत्वलाई व्यवस्थापन गरी बैंकले दोहोरो अंकमा लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको हो । 

नियामकीय व्यवस्थाका कारण ठूलो रकम प्रभिजनमा राख्नुपर्दा बैंकको खूद नाफा भने घटेको छ । समीक्षा अवधिमा बैंकको खूद नाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको भन्दा खूद नाफा २३.७३ प्रतिशतले घटेको हो । यो बैंकले इम्पेयरमेन्ट चार्ज १३ करोड ८३ लाख राख्नु परेकोमा यो वर्ष बढाएर ६७ करोड ७२ लाख राख्नु परेको देखिन्छ । 

अघिल्लो वर्ष २ अर्ब १० करोड रुपैयाँ रहेको संचालन मुनाफा समेत घटेर यो वर्ष १ अर्ब ४५ करोडमा सीमित बन्न पुगेको छ । 

बैंकको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष २ अर्ब ६८ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष २ अर्ब ८८ करोडको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष २ अर्ब ८२ करोडमा सीमित रिजर्बको आकार बढाएर बैंकले ३ अर्ब ३९ करोडको उचाई चुमाएको छ भने अघिल्लो वर्ष १४.३७ प्रतिशत रहेको क्यापिटल एडेक्वेसी रेसियो बढेर यो वर्ष १५.७१ प्रतिशत पुगेको छ । 

अघिल्लो वर्ष १.१३ प्रतिशतमा सीमित खराब कर्जा केही बढी यो वर्ष १.४६ प्रतिशत पुगेको देखिएको छ भने कस्ट अफ फण्ड ७.१९ प्रतिशत रहेको छ । 

नाफामा आएको गिरावटका कारण यो बैंकको प्रतिसेयर आम्दानी १७.४८ रुपैयाँबाट घटेर १२.२८ रुपैयाँमा सीमित बन्न पुगेको छ । 

चौथो त्रैमासको अन्तिम दिनको आधारमा बैंकको पीई रेसियो १५.३१ गुणा र पीबी रेसियो १.२८ प्रतिशत रहेको छ । 

*यसअघिको समाचारमा वितरणयोग्य मुनाफा र लाभांश क्षमताको विषयमा भूलवश गलत तथ्यांक पर्न गएकोमा क्षमाप्रार्थीसहित सच्याइएको छ ।