काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले निश्कासन गरेको एफपीओ पहिलो दिन नै ओभरसब्स्क्राइड भएको छ । 

यो बैंकको एफपीओमा पहिलो दिन नै झण्डै २ गुणाले आवेदन परेको हो । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सिटिजन्सले निश्कासन गरेको ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओमा पहिलो दिन ७ लाख ७७ हजार ७ सय १० कित्ताका लागि आवेदन परेको हो । 

देशभरबाट ६ हजार ६ सय ७३ आवेदकबाट १५ करोड ५५ लाख ४२ हजार रुपैयाँ बराबरको खरीद प्रस्ताव परेको छ ।

बैंकले आजदेखि प्रिमियमसहित प्रतिकित्ता रु. २०० को दरले एफपीओ निश्कासन गरेको हो । एफपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

इच्छुकले न्यूनतम ५० देखि अधिकतम २ हजार ३ सय कित्तासम्मका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको छ । 

एफपीओ गरी बाँडफाँड गरेपछि बैंकमा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ । 

सिटिजन्स बैंकको एफपीओलाई इक्रा नेपालले (इक्राएनपी) आइपीओ ग्रेड ३ को प्रमाणपत्र प्रदान गरेको छ । यसको अर्थ कम्पनीको अवस्था औसत छ भन्ने हो । यस्तो कम्पनीमा लगानी गर्दा जोखिम कम हुन्छ । 

इच्छुक लगानीकर्ताले सीआस्वा सदस्य बैंक तथा बित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट दरखास्त दिन सक्ने व्यवस्था मिलाइएको छ ।

र, यो पनि पढ्नुहोस् :

आजदेखि सिटिजन्स बैंकको एफपीओ, लगानी गर्ने कि नगर्ने ?