काठमाण्डौ । सिटिजन्स बैंकको एफपीओ शुक्रबार बिहान बाँडफाँड हुने भएको छ । 

बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार एफपीओ शुक्रबार बिहान क्यापिटलकै जमलस्थित मुख्य कार्यालयमा बाँडफाँड हुने भएको छ ।

बैंकले साउन १५ गतेदेखि १८ गतेसम्म प्रिमियम मूल्यसहित प्रतिकित्ता २०० रुपैयाँको दरले ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओ निश्कासन गरेको थियो । एफपीओमा कूल ६२ लाख ६८ हजार ६४० कित्ताका लागि आवेदन परेको थियो ।

एफपीओमा ६४ हजार ७ सय १० वटा आवेदन परेको थियो । धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ताको दरले बाँडफाँड गर्दा ४६ हजार ३ सय ८२ जनाले गोलाप्रथाबाट एफपीओ पाउनेछन् । यसरी हेर्दा १८ हजार ३ सय २८ आवेदकको हात रित्तो हुने भएको छ । 

कुल ९ करोड २७ लाख ६५ हजार २ सय रुपैयाँ बराबरको एफपीओमा एक अर्ब २५ करोड ३७ लाख २८ हजार रुपैयाँको आवेदन परेको थियो । 

एफपीओ गरी बाँडफाँड गरेपछि बैंकमा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ ।