काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले क्यास ब्याक(नगद फिर्ता) योजना ल्याएको छ । 

यो योजनाअन्तर्गत बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पस मेशिन वा अनलाइन कारोवारमा प्रत्येक कारोबार रकमको १० प्रतिशत फिर्ता प्राप्त गर्न सकिनेछ। 

यस्तो नगद फिर्ताको सीमा प्रतिदिन रु ५०० र प्रति महिना रु ३००० सम्म रहने बैंकले जनाएको छ । यो योजना सीमित अवधिका लागि लागू गरिएको बताइएको छ । 

बैंकले देशैभर फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब चारलाख  ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयबाटै छिटोछरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सातवटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।