काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले बिक्री नभएको ६ लाख १९ हजार ८ सय ३ कित्ता हकप्रद बोलकबोलबाट बिक्री गर्ने भएको छ ।

यो बैंकले एक सूचना प्रकाशित गर्दै आगामी असार १५ गतेदेखि बिक्री नभएको सेयरको लिलामी प्रक्रियामा आवेदन दिनसकिने बताएको हो ।

यो बैंकले गत चैत २४ गते १० बराबर २.५ को अनुपातमा हकप्रद सेयरको निश्कासन गरेको थियो । सोमध्ये साधारणतर्फ ४ लाख २० हजार ४ सय ९० र संस्थागततर्फ १ लाख ९९ हजार ३ सय १३ कित्ता हकप्रद बिक्री भएको थिएन । त्यही सेयर बोलकबोलबाट बिक्री गर्ने भएको हो ।

लिलामीमा असार २१ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । लिलामीको अन्तिम नतिजा आगामी असार २२ गते प्रकाशन गरिने बैंकले जनाएको छ ।

बोलकबोल प्रक्रियामा सहभागी हुन चाहनेले प्रतिकित्ताको मूल्य न्यूनतम १ सय रुपैयाँ उल्लेख गर्नुपर्नेछ भने न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनैपर्नेछ ।

सानिमा क्यापिटल लिमीटेडले यो बैंकको हकप्रद लिलामी प्रक्रियामा बिक्री प्रबन्धकको काम गर्नेछ । काठमाण्डौको नक्सालस्थित सानिमा क्यापिटलको मुख्य कार्यालयमा गएर इच्छुकले बोलकबोल प्रक्रियामा सहभागिता जनाउन सक्नेछन् ।

यो बैंकको अन्तिम सेयर कारोबार मूल्य प्रतिकित्ता ३ सय ८८ रुपैयाँ रहेको छ । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ८७ करोड १५ लाख खूद नाफा आर्जन गरेको छ ।