काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबिआई) बीच तालिम सञ्चालन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनबिआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिका लागि एनबिआईले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिमहरु प्रदान गर्नेछ । यसका साथै एनबिआईले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । अब आउने निकट भविष्यमा पनि कर्मचारीहरूको वृति विकासका निमित्त विभिन्न कार्यक्रमहरू संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा एटिएम र १०१ वटा शाखारहित बैंकिङ एकाइहरुबाट करिब चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाइजस्ता कार्यहरूको छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सातवटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ ।