काठमाण्डौ । नेपाली जनताको घरदैलोमा अनवरत रूपले बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो ८५ औं शाखा आइतबारदेखि आफ्नै सुविधा सम्पन्न भवन काठमाडौँको कमलादी सञ्चालनमा ल्याएको छ ।

करिब ५४४२ वर्गफिटमा फैलिएको उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति थियो । करिब १३ वर्षअघि कमलादीबाटै यस बैंकले बैंकिंग कारोवारको शुभारम्भ गरेकोमा र १० वर्षको सफल बैंकिङ कारोबारपछि २०७३ सालमा नारायणहिटीपथस्थित बैंकको आफ्नै भवनबाट मुख्यकार्यालय तथा दरबारमार्ग शाखामार्फत बैंकिङ सेवा सुबिधा प्रदान गर्दै आएको छ । हाल उक्त क्षेत्रको बासिन्दा तथा व्यवसायीहरूलाई एटिएममार्फत मात्र सेवा प्रदानगर्दै आएकोमा अब सम्पूर्ण बैंकिङ सेवा सुबिधा छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा प्रदान गर्ने हेतुले उक्त शाखा संचालनमा ल्याइएको बैंकले जनाएको छ ।

बैंकको सुरुवाती दौरानमा बैंकले ग्राहक महानुभावहरुबाट पाएको अपार सहयोगको पुनरावृति हुने कुरामा बैंक विश्वस्त छ ।

अत्याधुनिक प्रविधियुक्त यस शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदानगर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब चार लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।