काठमाण्डौ । कमजोर व्यवस्थापन र अदूरदर्शी नीतिका कारण समकालीन बैंकहरुले नाफा बढाइरहँदा सिटिन्जस बैंकले भने नाफा घटेको बित्तीय विवरण  सार्वजनिक गरी लगानीकर्तालाई निराश बनाएको छ । यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि नाफा घटेको रिपोर्ट सार्वजनिक गरी सेयरधनीलाई उदास बनाएको थियो । दोश्रो त्रैमासमा बैंकको अवस्थामा सुधार हुने अपेक्षामा बसेका लगानीकर्ता अन्ततः जिल्ल पर्नुपर्ने अवस्था सिर्जना भएको हो । 

यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ८२ करोड ८६ लाख खूद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा यो बैंकको नाफा ६३ करोड १६ लाख रुपैयाँ रहेको थियो । 

बैंकको ब्याज आम्दानी भने बढेको छ । गत वर्ष ८५ करोड ५१ लख रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष ९७ करोड ४१ लाख रुपैयाँको उचाईमा पुगेको छ । 

बैंकको ब्याज खर्च अचाक्ली वृद्धि भएका कारण नाफा घटेको देखिएको छ । ब्याज खर्च घटाउन नसक्नु व्यवस्थापनको असफलताको संकेत हो ।

अघिल्लो वर्ष ब्याज खर्च १ अर्ब १८ करोड छँदा यो वर्ष बढेर २ अर्ब २७ करोडको उचाईमा पुगेको छ । महंगोमा निक्षेप लिएर बैंक चलाउनुपर्दा ब्याज खर्च केही बढ्नु स्वभाविक भए पनि सिटिजनको जस्तो अनियन्त्रित भएर बढ्नुको एउटै कारण कमजोर व्यवस्थापन रहेको विश्लेषकहरु बताउँछन् । 

अर्को, महत्वपूर्ण सूचक खराब कर्जा समेत बढेको देखिएको छ । यो बैंककै आगामी प्रगतिका लागि समेत बाधकको संकेत हो । अघिल्लो वर्षको यही अवधिमा १.३२ प्रतिशत रहेको खराब कर्जा बढेर यो वर्ष १.९४ प्रतिशतको उचाईमा पुगेको हो । बैंक नेतृत्व खराब कर्जा असूलीमा समेत असफल देखिएको छ । गत वर्ष दोश्रो त्रैमाससम्म झण्डै ७० करोड खराब कर्जा असूल भएकोमा यो वर्षको त्यही अवधिमा १४ करोड २६ लाख मात्र त्यस्तो कर्जा असूल भएको छ ।

बैंकको जगेडाकोषमा सामान्य सुधार देखिन्छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ९१ करोड रुपैयाँ रहेको कोषमा यो वर्ष १ अर्ब ९९ करोड जम्मा भएको छ । बैंकले संभावित जोखिम व्यवस्थापनका लागि १३ करोड ६५ लाख रुपैयाँ राखेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.६६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२४.८७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.२० गुणा कायम भएको छ ।