काठमाण्डौ ।  सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीको शुक्रबार सम्पन्न प्रथम साधारणसभाले १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने प्रस्ताव पारित गरेको हो । 

यो कम्पनीकोजारी पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ, जसको ३० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँको सेयर आइपीओको रुपमा बिक्री गर्न लागेको हो । हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । 

यसैबीच, पहिलो साधारणसभाले प्रदीपजंग पाण्डेलाई पुनः संचालक समितिको अध्यक्षमा चयन गर्दै संस्थापक सेयरधनीको   तर्फबाट सुमितकुमार अग्रवाल, अनोज रिमाल, महेश स्वाँर र मनोज कार्की तथा स्वतन्त्र र व्यवसायिक सञ्चालकमा इन्द्रप्रसाद कर्मचार्यलाई समेत नियुक्त गरेको छ ।

०७४ कात्तिक २ गतेदेखि  व्यवसायिक कारोबार थालेको यो कम्पनीले हाल विभिन्न ३५ शाखा कार्यालयमार्फत सेवा प्रवाह गरिरहेको  छ । कम्पनीले चालु आर्थिक वर्षको अन्तसम्म ४२ वटा शाखा सञ्जाल बिस्तार गर्ने योजना समेत साधारणसभामा सुनाइएको थियो ।