काठमाण्डौ । सिडिएसीका सीईओ देवप्रकाश गुप्ताले 'कट अफ प्राइस' का लागि गत असार ३१ गतेलाई सेयर मूल्यको आधार दिन मानेमा भारित औसत आधारमा हुने पूँजीगत लाभकरको गणना विधिमा देखिएको समस्या समाधान हुने बताएका छन् ।

भारित औसत आधारमा हुने पूँजीगत लाभकरको गणनाविधिको विरोधमा उत्रिएका लगानीकर्ताका संघसंगठनले आइतबार बुझाएको पत्र बुझ्दै सीईओ गुप्ताले गत असार ३१ लाई कट अफ प्राइस दिन मानेर अगाडि बढ्नुपर्ने र त्यसमा केही भए आफूहरु मुद्दा खेप्न तयार रहेको बताए । ‘हामी धेरै छिटो भयौँ, यो काम धितोपत्र बोर्डले गर्नुपर्ने हो’, उनले भने, ‘गत असार ३१ लाई कट अफ प्राइसको आधार दिन मनौँ, केही भए हामी मुद्दा खेपौँला।’ 

धितोपत्र दलाल व्यवसायीसँग भएको सहमतिपछि लगानीकर्ताले साउन १ गतेदेखि लागू हुने भनिएको भारित औसत आधारमा हुने पूँजीगत लाभकरको गणना विधि स्थगन गर्न सिडिएससीलाई आग्रह गरेका थिए। उनीहरुले पूँजीगत लाभकर गणनाकै लागि ब्रोकर कार्यालयमा गएर ल्याप्चे नलगाउन लगानीकर्तालाई समेत आह्वान गरेका छन् । 

भारित औषत लागतको गणना गर्दा लगानीकर्ता आफैले लागत मूल्यको स्वःघोषणा गर्नुपर्ने सिडिएससी र ब्रोकरले सूचना जारी गरेसँगै लगानीकर्ता आन्दोलित बनेका छन् । 

धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताका संघसंगठनबीच आइतबार बिहान भएको छलफलबाट आएको निश्कर्ष अनुसार चारवटा लगानीकर्ता संघसंगठनले सिडिएस एण्ड क्लियरिङ लिमीटेडलाई एक पत्र लेख्दै राफसाफ रोकी सहयोग गरिदिन आग्रह गरेका हुन् । 

सिडिएससीले दिएको निर्देशन अनुसारको पूँजीगत लाभकर गणना विधि अव्यवहारिक रहेको ठहर गर्दै समस्या समाधान नभएसम्मका लागि कारोबार राफसाफ गर्न नहुने छलफलमा सहभागी अधिकांशको मत थियो । 

दोस्रो बजारमा सेयर बिक्री गरेपछि भौतिक रुपमा ब्रोकर कार्यालयमा उपस्थित भई विवरण उपलब्ध गराउनुपर्ने निर्णय लगानीकर्ताहरुका लागि अनलाइन र प्रविधिको युगमा एक कालोधब्बा हुने उल्लेख गर्दै यो अव्यवहारिक व्यवस्था लगानीकर्ताका लागि अस्वीकार्य रहेको भन्दै राफसाफ रोकी आफूहरुलाई सहयोग गर्न सिडिएससीलाई आग्रह गरेका छन् । 

लगानीकर्ताका संघसंगठनले नै सबै लगानीकर्ताहरुलाई ब्रोकर कार्यालयमा गएर हस्ताक्षर नगर्न आह्वानसमेत गरेका छन् । 

सिडिएससीलाई लेखिएको पत्रको बोधार्थ धितोपत्र बोर्ड, अर्थमन्त्रालय, नेपाल स्टक एक्सचेञ्ज लिमीटेड र स्टक ब्रोकर एशोसिएसनलाई समेत दिइएको छ ।

सिडिएससीलाई लेखिएको पत्रमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, सेयर लगानीकर्ता दवाब समूहका अध्यक्ष हरि ढकाल र नेपाल पूँजीबजार संघका अध्यक्ष संरक्षणा चौधरीले हस्ताक्षर गरेका छन् ।