-भक्तराज रसाइली
काठमाण्डौं । घरायसी नामसारीका लागि अबदेखि सेयरधनीहरुले नेपाल स्टक एक्सचेञ्ज नै आउनुपर्ने बाध्यता आज(मंगलबार)देखि हटेको छ । 

नामसारीका लागि लाइसेन्सप्राप्त डीपीबाट आवश्यक कागजात प्रक्रिया पूरा गरेपछि अब काठमाण्डौं नआई यो सेवा लिन संभव भएको हो ।

सीडीएस एण्ड क्लियरिङ(सिडिएससी)का प्रवक्ता सुरेश न्यौपानेका अनुसार डीपी र सीडीएसले लिने शुल्कमा थोरै परिवर्तन गरिएको, तर त्यसको भार सेयरधनीहरुले तिर्न नपर्ने गरी मिलाइएको छ । 

यो भन्दा पहिले नेप्से कार्यालयमा नै स्वयम् उपस्थित भएर घरायसी नामसारी गर्नुपर्ने बाध्यता थियो । यस्तो व्यवस्थाले दूरदराजका सेयरधनीहरुलाई भोग्दै आएको पीडालाई मध्यनजर गर्दैै डीपीको मूख्य दायित्व रहने गरी यो नयाँ व्यवस्था लागू गरिएको र सबै डीपीहरु यो सुविधा सेयरधनीलाई दिन तयार रहेका न्यौपानेले जानकारी दिए ।

डीपीले कागजात  प्रमाणीकरण गर्ने र सीडीएसी आउन नपर्ने व्यवस्था मिलाइएको उनको भनाई छ ।