-भक्तराज रसाइली 
काठमाण्डौ । सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडले साउन २६ गते भएको  धितोपत्र कारोबारको राफसाफ अहिलेसम्म गरिसकेको छैन ।

गत साउन २६ गते भएको धितोपत्र कारोबारको राफसाफ हिजो बुधबार हुनुपर्ने थियो, तर  सिस्टम परिवर्तन भएर ढिलाइ भएका कारण नभएको जानकारी सिडिएससीले  दिएको छ ।

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले  पुरानो सिस्टम परिवर्तन गरी नयाँ सिस्टम जडान गर्दा डाटा ट्रान्सफरमा ढिलाइ भएको उल्लेख गर्दै बिजशालासँग भने–‘अब केही क्षणमा सिस्टमबाट सेटलमेन्ट हुन्छ । त्यसपछि यो समस्या नरहला ।’

अनामनगरस्थित एक ब्रोकर कम्पनीको कार्यालयमा कार्यरत एक कर्मचारीका अनुसार विगत ३ दिनदेखि कारोबार राफसाफ हुन सकिरहेको छैन । सेयर ट्रान्सफर र राफसाफ नहुँदा लगानीकर्ताहरुले कार्यालयमा नाराबाजी र तोडफोड गर्ने अवस्थासम्म आएको भन्दै सिडिएससीका कमजोरीका कारण काम गर्न समस्या भएको उनले दाबी गरे । 

हिजो सबै ब्रोकरहरुलाई एक इमेल मार्फत सिडिएससीले माफी माग्दै कारोबार सेटलमेन्ट हुन नसकेको जनाएको थियो । हिजै यस विषयमा सिडिएससीका सीइओ देवप्रकाश गुप्तासँग जिज्ञासा राख्दा सेटलेमेण्टको समस्या बुधबार नै सुल्झिने दाबी गरेका थिए । 

हाल आएर ‘मेरो सेयर’ पोर्टलबाट ईडीआइएसको अप्सनसमेत सिडिएससीले निष्क्रिय पारेको छ भने आइतबारको राफसाफबाट धितोपत्र बेचेबापत पाउनुपर्ने रकम नपाउँदा आफूलाई मर्का परेको धरानका लगानीकर्ता केशव दाहालले गुनासो गरेका छन् । ‘कारोबार राफसाफ समयमै हामीले नगर्दा सिडिएससीले  क्लोज आउटमा जरिवाना असूल्छ, तर हामीले पैसा नपाउँदा कहाँ गरेर उजुरी गर्ने हो ?’–दाहालले आक्रोशित हुँदै भने। 

पछिल्लो समय  सिडिएससीले विभिन्न बहानाबाजी गर्दै उसैले दिदै आएको सेवाप्रवाहमा चरम लापरबाही र हेल्चेक्र्याई गर्दा समेत उसको माउ संस्था नेप्से र नियामक सेबोन चूप छन् ।

नगद र सुनपछिको तरल सम्पत्ति मानिने स्टकको किनबेचबाट सेयर लगानीकर्ताहरुले न त धितोपत्र न पैसा पाउने स्थिति बनाउने सिडिएससीको पछिल्लो क्रियाकलापप्रति लगानीकर्ताहरुले तीव्र आक्रोश पोख्दै आएका छन् ।