काठमाण्डौ ।सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ ।

गत पुस २२ गतेदेखि पुस २५ गतेसम्म श्रीनगर(सर्लाही) र पुस २७ देखि पौष २९ सम्म मलंगवा      (सर्लाही) मा संचालन भएको उक्त शिविरमा कूल १,२४१ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये १७८ जना मोतियाबिन्दु रोगीहरुको पहिचान गरी उ नीहरुका आँखा शल्यक्रिया गरिएको थियो ।

उक्त शल्यक्रियाका लागि बैंकले नेपाल आँखा अस्पताललाई रु ४,६७,५००  आर्थिक सहयोग प्रदान गरेको थियो । उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष  मनोज कुमार केडियाले एक विशेष कार्यक्रमका बीच नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गरे ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने बताएको छ ।

बैंकले देशभर १८० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०० एटिएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।