काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लगानीकर्तालाई ९ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिएको छ।

यो बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिक वित्तीय विवरण सोमबार सार्वजनिक गरेको छ। जसमा लगानीकर्ताले ९ प्रतिशतसम्म लाभांश पाउनसक्ने देखिएको हो। 

चौथो त्रैमाससम्म यो बैंकको वितरणयोग्य मुनाफा ८६ करोड ६४ लाख रुपैयाँ रहेको छ। बैंकको चुक्तापुँजी ९ अर्ब ७८ करोड २८ लाख रुपैयाँ रहेको छ। 

समीक्षा अवधिसम्म बैंकको खुद नाफा २ अर्ब ९ करोड रुपैयाँ रहेको छ। यो खुद नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ७.३० प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिसम्म बैंकले २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म बैंकले सञ्चालन मुनाफाबापत ३ अर्ब ६ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म ३ अर्ब २८ करोड रुपैयाँ रहेको थियो। 

बैंकले खुद ब्याज आम्दानीबापत ५ अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो। 

बैंकले समीक्षा अवधिसम्म १ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्बरुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

बैंकको रिजर्भको आकार २४.२५ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष ४ अर्ब २१ करोड रुपैयाँ रहेको रिजर्भमा बढेर ५ अर्ब २४ करोड रुपैयाँ जम्मा भएको छ। 

समीक्षा अवधिमा बैंकको आधार दर भने १.५४ प्रतिशतले घटेको छ। गत वर्ष १०.५७ प्रतिशत रहेको आधार दर घटेर ९.०३ प्रतिशतमा झरेको हो। 

खराब कर्जाको अनुपात भने बढेको छ। अघिल्लो वर्ष ०.७५ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात यो वर्ष बढेर १.५६ प्रतिशत पुगेको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २१.३९ रुपैयाँ रहेको छ। पीई रेसियो भने १३.८४ गुणा रहेको छ। प्रतिसेयर नेटवर्थ १६३.२२ रुपैयाँ छ।